Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

प्लेअर टू वाच : अर्जेन्टिनाका लागि प्रभाव पार्न सक्ने पाँच महत्त्वपूर्ण खेलाडी

कतार विश्वकप २०२२ नजिकिँदै गर्दा अर्जेन्टिना यो संस्करणमा बलियो टोलीको रूपमा प्रस्तुत हुनेछ । सन् २०१८ को अर्जेन्टिनाको टोलीभन्दा अहिले धेरै राम्रो बनेको छ । सो विश्वकपमा फ्रान्ससँग हार्दै अर्जेन्टिना अन्तिम–१६ बाट नै बाहिरिएको थियो । त्यसअघि ब्राजिलमा आयोजना भएको सन् २०१४ को विश्वकपमा उप–विजेता बन्दै अर्जेन्टिना चुकेको थियो । 

अर्जेन्टिनाले यो पटक खेलाडीदेखि प्रशिक्षकको विषयलाई धेरै परिवर्तन गरेको छ । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले सबै कुराहरूलाई एक रूप पार्दै लियोनल मेस्सीको कप्तानीमा एक टोली तयार पारेका छन् ।

स्कालोनीले नै तयार पारेको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै सन् २०२१ को कोपा अमेरिकाको उपाधि जित्यो । २८ वर्ष पछि उनको नेतृत्वको टोलीले कोपा अमेरिकाको उपाधि जित्न सफल भयो । अर्जेन्टिनाले त्यो लयलाई कायम राख्दै इटालीसँग फाइनलिजम ट्रफी खेल्यो । त्यसमा पनि अर्जेन्टिना सफल भयो । विश्वकप उपाधि जित्नका लागि अर्जेन्टिनी टोली अहिले तयार छ । त्यसका लागि खेलाडीहरुले मेहनत गरिरहेका छन् । 

यसपटकको विश्वकपमा अर्जेन्टिनाबाट को चम्किलान् ? सबैको आँखा त्यसैमा हुनेछ । कतार विश्वकपमा अर्जेन्टिनाको हेर्न लायक केही खेलाडीको सूची यहाँ प्रस्तुत गरिएको छ ।

लियोनल मेस्सी 

पोजिसन  :  फरवार्ड 

उमेर  :  ३५ वर्ष 

अर्जेन्टिनाले लामो समयदेखि हात पार्न नसकेको ट्रफी हो विश्वकप ट्रफी । २०१४ मा विश्वकपको उपाधि नजिक पुगेर पनि टोलीले जित्न सकेन । त्यसको सात वर्ष पछि मेस्सीले कोपा अमेरिका जितेर ठुलो सान्त्वना प्राप्त गरे । राष्ट्रिय टोलीबाट मेस्सीको त्यो पहिलो उपाधि थियो । 

मेस्सी अहिले पनि विश्वकप उपाधिको खोजीमा छन् । सम्भवतः मेस्सीका लागि यो अन्तिम र विशेष विश्वकप हुन सक्छ । उमेरसँगै मेस्सीको गतिमा केही कमी आएको छ । तर, मेस्सीको पछिल्लो फर्मलाई हेर्दा उनी उत्कृष्ट खेलाडीको पक्षबाट कुनै रूपमा कम छैनन् । उनको असिस्ट गर्ने क्षमता र बललाई खेलाउने क्षमता अझै पनि युवा अवस्थाको जस्तै छ । अर्जेन्टिनाका लागि सन् २००५ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका मेस्सीको भरमा अर्जेन्टिना कतार पुग्नेछ । त्यस्तो त सन् २०१४ देखि नै अर्जेन्टिना मेस्सीको भरमा छ । 

इमिलेनो मार्टिनेज 

पोजिसन  :  गोलरक्षक 

उमेर  :  २९ वर्ष 

अर्जेन्टिनाका पहिलो रोजाइका गोलकिपर मार्टिनेज सन् २०१० मा आर्सनलमा अनुबन्ध भएपछि इन्जुरी हुनु पूर्व सात पटक लोनमा अन्य क्लब गएका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा लन्डन क्लबलाई त्यो वर्ष एफए कप उपाधि जित्न मद्दत पुग्यो । 

उनी पूर्ण रूपमा फिट भएपछि प्रिमियर लिग क्लब एस्टन भिल्लाले २० मिलियन युरोमा उनलाई अनुबन्ध गर्‍यो । सर्जियो रोमेरोको स्थान पूर्ती गर्ने खेलाडीको खोजी पूरा भयो । रुसमा आयोजित विश्वकमा उनले मौका पाएनन् । सन् २०२१ को कोपा अमेरिकामा उनले मौका पाए । उनकै उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्यो । 

क्रिस्टियन रोमेरो 

पोजिसन  :  डिफेन्डर 

उमेर  :  २४ वर्ष 

एक समय थियो जब रोमेरो खेल छोड्नेबारे सोचिरहेका थिए । कर्डोबामा जन्मेका डिफेन्डर रोमेरोको बेलग्रानोका लागि खेल्ने सपना थियो । 

उक्त क्लबमा दुई वर्ष बिताएपछि उनी इटालियन क्लब जेनोआमा गए । त्यहाँ उनको खेल स्तर नै बेग्लै बन्यो । सन् २०१९ मा रोमेरोलाई इटालियन क्लब युभेन्ट्सले अनुबन्ध गर्‍यो । त्यहाँबाट उनलाई लोनमा एटलान्टा पठाइयो । सन् २०१९–२० मा एटलान्टा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्दा उनको महत्त्वपूर्ण भूमिका थियो । एटलान्टामा उत्कृष्ट डिफेन्डर घोषित भएपछि उनी प्रिमियर लिग क्लब टोटेनहम गए । 

उनी अहिले विश्व फुटबलमा उत्कृष्ट डिफेन्डरमा पर्दछन् । अर्जेन्टिनाका लागि मात्र १२ खेल खेलेका उनले एक गोल पनि गरेका छन् ।

रोड्रिगो डी पाउल

पोजिसन  :  मिडफिल्डर

उमेर  :  २८

डी पाउलले उनका दुई सहकर्मी लिआन्ड्रो परेडेस र जियोवानी लो सेल्सो जस्तै मिडफिल्डरको रूपमा आफ्नो क्यारियर सुरु गरे ।  रेसिङ क्लबमा प्लेमेकिङ भूमिकामा केही समय बिताएपछि उनी स्पेनिस क्लब भ्यालेन्सियामा गए । 

भ्यालेन्सियामा राम्रो फर्म नभएपछि उनी पुनः पुरानै क्लब रेसिङमा फर्के । त्यहाँ उनले पुरानै लय समाए । त्यसपछि उनलाई उडिनेसेले अनुबन्ध गर्‍यो । अहिले उनी स्पेनिस क्लब एट्लेटिकोमा छन् । डी पाउलले अर्जेन्टिनाका लागि ४३ खेलमा २ गोल गरेका छन् । 

लाउटारो मार्टिनेज

पोजिसन: फरवार्ड 

उमेर  :  २५ वर्ष 

अर्जेन्टिनी रेसिङ क्लबबाट सिनियर फुटबल करियरको सुरुवात गरेका मार्टिनेजले सन् २०१८ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । मार्टिनेज इटाली गएर इन्टर मिलानबाट खेल्न थालेपछि उत्कृष्ट प्रदर्शन गर्दै इन्टरलाई सन् २०२०–२१ मा सिरी ए को उपाधि दिलाए । उक्त सिजन मार्टिनेजले सबै प्रतियोगिताहरूमा ४९ खेलमा २५ गोल गरेका थिए । मार्टिनेजले अर्जेन्टिनाका लागि विश्वकपमा त्यस्तै प्रदर्शन गर्ने आशा गरिएको छ । आक्रामक शैलीमा उत्रने उनले लियोनल मेस्सीसँग उत्कृष्ट साझेदारी  गरिरहेका छन् । रुसमा आयोजित विश्वकप गुमाएका मार्टिनेज अब कतार विश्वकपमा चम्किने लक्ष्यमा छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np