Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

गठबन्धनको जीत सुनिश्चित : आरजु राणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेकी छन् । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका र आ–आफ्ना कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापीरुपमा आतुर रहेकाले जीत सुनिश्चित रहेको उनले बताइन् ।

वर्तमान सरकारले छोटै समयमा गरेका राम्रा कामका साथै कांग्रेसजस्तो पुरानो प्रजातान्त्रिक शक्तिको नेतृत्वलाई नै नेपाली जनताले रुचाइएकाले पनि आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको उनले दाबी गरिन् । कांग्रेसले अहिलेको गठबन्धनको टिमलाई नै लिएर निर्वाचनपछि पनि अघि बढ्ने प्रण गरिसकेकाले यही टिमको भावनालाई बुझेर सबैले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उनको आग्रह थियो ।

कांग्रेस नेतृ राणाले मुलुकमा लोकतन्त्रपछि प्राप्त उपलब्धिको रक्षा गर्न, संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि वर्तमान सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरूले विजय हासिल गर्नुपर्ने धारणा पनि राखिन् । नेतृ राणाले यो सरकार निर्माण भएको छोटो समयमै विकास निर्माणका साथै अरु धेरै काम भएका प्रसङ्ग पनि सो अवसरमा उल्लेख गरिन् ।

उनले भनिन्, “वर्तमान देउवा सरकार निर्माण हुँदा देश कोरोना महामारीमा थियो, नागरिकले पर्याप्तमात्रामा खोप पाउन सकेका थिएनन् । प्रधानमन्त्रीजीले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्नुभयो र विदेशी दाताहरूसँग अनुरोध गर्नुका साथै खोप खरिद गरेरसमेत ल्याइ देशमा खोप उपलब्ध गराउनुभयो । यो सरकार निर्माण भएपछि धेरै पहिलेदेखि रोकिएर रहेका ठूला परियोजनादेखि लिएर विकास निर्माणका काम अघि बढेका छन्, वैदेशिक सम्बन्ध र सहायता मजबुद हुँदै गएको छ ।”

नेतृ राणा आइतबार छठ पर्वका अवसरमा पूजा एवं दर्शन गर्न जनकपुरधाम आएकी हुन् । उनले आज दिउँसो जनकपुरधामस्थित गङ्गासागरमा छठ पर्वको व्रत एवं पूजाको अवलोकन गर्ने कार्यक्रम छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने क्रममा नेतृ राणा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको गृहगाउँ नगराइन नगरपालिका जाने कार्यक्रम रहेको कांग्रेस धनुषा क्षेत्र नं ३ का क्षेत्रीय सभापति धीरेन्द्र निधिले जानकारी दिए । रासस

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np