Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

सन्दीप लामिछानेको बयान सकियो, बुधबार थुनछेक बहस हुने

क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान सकिए पनि थुनछेक बहस हुन नपाएपछि बुधबारका लागि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

१७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।

मुलुकी अपराधसंहिता, २०७४ को दफा २१९ को उपदफा १ बमोजिमको कसुर गरेको भन्दै सन्दीपविरुद्ध १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिव क्षतिपूर्तिको मागदावी लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

​सोमबार दायर भएको रिटमा मंगलबार बयान र थुनछेक हुने भनिए पनि बयान सकिन दिनभर लागेपछि बुधबार मात्रै थुनछेक बहस हुने भएको हो । कार्यालय समय सकिएपनि सन्दीपको बयान साँझ ६ बजेसम्म नै गराएर मंगलबार बयान सकाइएको छ । अब बुधबार इजलास खुल्ने बित्तिकै थुनछेक बहस सुरु हुने काठमाडौँ जिल्ला अदालतले जनाएको छ ।

गत भदौ ५ गते रातीदेखि भदौ ६ गतेको बिहानसम्म एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटल काठमाडौँ इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । जाहेरी परेको समयमा सन्दीप क्यारेबियन लिग खेल्न जमैकामा पुगेका थिए । प्रहरीमा जाहेरी परेपछि खेल नखेली फरार भएपछि नेपाल प्रहरीले सन्दीपविरुद्ध डिफ्युजन नोटिस समेत जारी गरेको थियो ।

प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि सन्दीप असोज २० गते काठमाडौँ आएका थिए । त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा सन्दीपले किशोरीसँगै रात बिताएको बताए पनि करणी नभएको जिकिर गरेका छन् । यद्यपि किशोरीले भने सन्दीपले भदौ ६ गतेको बिहान (राति) ००ः२५ बजे र त्यसको एक घण्टापछि आफूमाथि दुईपटक जबरजस्ती करणी भएको जाहेरी र बयानमा उल्लेख गरेकी छिन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np