Global Force Media

२०८० चैत्र १६ - Fri Mar, 2024 -

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा आज डडेलधुरा जाँदै

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा आज डडेलधुरा जाँदै

कैलाली – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी आमसभालाई सम्बोधन गर्न आज डडेलधुरा जाँदैछन् । नेपाली सेनाको हेलिकप्टरबाट कैलालीको तेघरीस्थित सेनाको ब्यारेकमा अवतरण पश्चात् डडेलधुरा जाने कार्यक्रम छ ।

नेपाली कांग्रेस प्रदेश समितिले दिएको जानकारी अनुसार उनी कात्तिक १७ गतेदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने छन्।

देउवाले ४ दिनमा वाम–लोकतान्त्रिक गठबन्धन डडेलधुराले जिल्लाका सातवटै पालिकामा आयोजना गर्ने सभालाई सम्बोधन गर्ने तालिका छ ।

देउवा १७ गते डडेलधुरा सदरमुकाम अमरगढीमा हुने कार्यक्रममा सहभागी हुनेछन् भने १८ गते नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका, १९ गते अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिका, २० गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको कार्यक्रममा सहभागी हुनेछन् ।

डडेलधुरामा चुनावी सरगर्मी बढ्यो
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा चुनावी सरगर्मी बढेको छ ।

नेपाली कांग्रेस डडेलधुराका निवर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ल नेपाली कांग्रेस (बीपी) बाट चुनावी मैदानमा प्रधानमन्त्री देउवाको प्रतिस्पर्धी छन् । डडेलधुराबाट प्रधानमन्त्री देउवाले यसअघि छ वटा संसदीय निर्वाचन जिति सकेका छन् ।

नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदको नेतृत्वमा चुनावी प्रचार अभियान अघि बढेको छ । साउदले महाकाली नदीमा पुल, पश्चिम सेती परियोजना कार्यान्वयन, डडेलधुरा मेडिकल कलेज सञ्चालन, जिल्लाका पुराना सडक पक्की गर्ने, पुइलेक एयरपोर्ट निर्माण, कृषि आधुनिकीकरण जस्ता चुनावी एजेन्डा रहेको बताए ।

स्थानीय तहको निर्वाचनमा जिल्लाका सात तहमध्ये दुई नगरपालिका र तीन गाउँपालिका नेपाली कांग्रेसले जितेको छ । नेकपा (माओवादी केन्द्र)ले बाँकी दुई पालिका जितेको छ । डडेलधुराका ५२ वडामध्ये नेपाली कांग्रेसले २९ वडामा जित हात पारेको छ । यस्तै नेकपा (माओवादी केन्द्र)ले १३, नेकपा (एमाले)ले चार, नेकपा (एकीकृत समाजवादी)ले दुई, नेपाली कांग्रेस (बीपी)ले दुई र स्वतन्त्रले दुई वडामा जितेको थियो ।

२०७४ मा वाम गठबन्धन हुँदा समेत नेकपा (माओवादी केन्द्र)का खगराज भट्ट प्रधानमन्त्री देउवासँग ६ हजार ९४८ मतले पराजित भएका थिए ।

त्यस्तै, २०६४ को निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट विक्रम शाही र नेकपा (माओवादी केन्द्र)को तर्फबाट खगराज भट्ट चुनावी मैदानमा थिए । २०७० को निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का खगराज भट्ट र नेकपा (एमाले)का डा. ताराप्रसाद जोशीलाई पराजित गर्दै प्रधानमन्त्री देउवा विजयी भएका थिए ।

प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्लले डडेलधुराका अधुरा योजना पूरा गर्ने, भौतिक पूर्वाधार निर्माणका कार्यक्रममा तीव्रता दिने, युवालाई दुव्र्यसनबाट मुक्त गराउने, धार्मिक शक्तिपीठको विकास र संरक्षण गर्ने, कृषि र स्वरोजगारका कार्यक्रम सञ्चालन गर्नेलगायतका चुनावी मुद्दा अघि सारेका छन् ।

यसैगरी, प्रतिनिधि सभाका उम्मेदवार सागर ढकालले डडेलधुरामा व्याप्त खानेपानी अभाव र गरिबीलाई अन्त्य गर्ने चुनावी एजेन्डा रहेको बताए । डडेलधुरा जिल्लाका विकट गाउँबस्तीमा खानेपानीको चरम अभाव रहेकाले आफूले जितेमा खानेपानी अभाव हुन नदिने ढकालले बताए ।

प्रतिनिधि सभामा एक मात्र क्षेत्र रहेको डडेलधुरामा प्रधानमन्त्री देउवा, नेपाली कांग्रेस (बीपी) का कर्ण मल्ल, राप्रपाका गोविन्द खडायत, जनता समाजवादीका श्याम सिनाल, स्वतन्त्रमा लालबहादुर खडायत, कर्णसिंह रावल र सागर ढकाल उम्मेदवार छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np