Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

ठेकेदार कम्पनीको लापर्बाहीका कारण जनप्रतिनिधिको बदनाम भयो -सांसद साँवा

ठेकेदार कम्पनीको लापर्बाहीका कारण जनप्रतिनिधिको बदनाम भयो- सांसद साँवा

झापाको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित एलपी साँवा लिम्बूले विकास आयोजनामा हुने गरेका बेथिति, ढिलासुस्ती र लापर्बाहीले जनताबाट अनुमोदित जनप्रतिनिधिको बदनाम हुने गरेको बताएका छन्।

निर्माण कम्पनी र ठेक्का प्रदायक निकायको लापर्बाहीका कारण आफूहरूको बदनाम हुने गरेको उनले बताए।

‘निर्वाचनताका घरदैलो अभियानमा सर्वसाधारण घरमा पुग्दा अधिकांश मतदाताले पुल, सडक, खानेपानी लगायतका विषयमा गम्भीर गुनासाहरू राख्नुभएको छ। उहाँहरूका गुनासा हामी उम्मेदवारले सुनेका छौं,’ उनले भने।

तर ठेकेदारको लापर्बाहीका कारण यस्ता गुनासा आफूहरूको टाउकामा आउने गरेको उनले बताए।

ठेक्का प्रदायक निकायसँगको सम्झौताविपरीत गुणस्तरहीन निर्माण सामग्री प्रयोग गर्ने, तोकिएको समयमा योजना सम्पन्न नगर्ने, निर्माणाधीन योजना अलपत्र पार्ने, काम छाडेर फरार हुने जस्ता निर्माण कम्पनीको कार्यबाट आफूहरू मानसिक रूपमा पीडित भएको पनि उनले बताए।

‘झापा निर्वाचन क्षेत्र नम्बर ४ मा दर्जनौं केन्द्रीय योजनाहरू सञ्चालन छन्। तर तोकिएको समयमा निर्माण सम्पन्न भएका छैनन्,’ सांसद लिम्बूले भने, ‘म यो योजना, त्यो ठेकेदार भनेर औंल्याउँदिनँ। देशी वा विदेशी ठेकेदार कम्पनी नै किन नहून्। अब यस्ता ठग ठेकेदार कम्पनीलाई त्यत्तिकै छोड्नेवाला छैन।’

अलपत्र पारिएका निर्माण योजनाहरू तुरून्त सञ्चालन गर्न पनि सांसद लिम्बूले निर्माण कम्पनीसँग आग्रह गरेका छन्।

दोस्रोपटक संघीय शासनमा निर्वाचित भएपछि आफ्नै निर्वाचन क्षेत्रको पर्यटकीय दोमुखा क्षेत्रमा पत्रकारसँगको छोटो कार्यक्रममा उनले भने, ‘ठेक्का दिने र लिनेबीचको मिलेमतोका कारण विकास योजना अलपत्र पारिएको छ। खबरदारीका लागि अब पहलकदमी हुनेछ।’

झापा निर्वाचन क्षेत्र नम्बर ४ का सबै प्रतिस्पर्धी उम्मेदवार अब एक ठाउँमा उभिएर आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि रचनात्मक सरसल्लाह, सुझाव र सहयोगको पनि अपेक्षा गरेका छन्।

पहिलोपटक संघीय सांसदका रूपमा निर्वाचित भएपछि आफ्नो पहलकदमी र प्रत्यक्ष संलग्नतामा सञ्चालनमा रहेका योजनाहरूलाई पूर्णतः दिने उनले बताए।

शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, सुकुम्बासी व्यवस्थापन, उद्योग तथा कलकारखाना, झोलुंगे पुल, कंक्रिट पुल, नदीको तटबन्ध, गरिबी निवारण जस्ता कार्यक्रमले अबको पाँच वर्ष प्राथमिकता पाउने बताए।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np