Global Force Media

२०८० चैत्र १६ - Fri Mar, 2024 -

कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद : देउवाले निधि छान्दा गोपालमान छुटे

कांग्रेसमा समानुपातिक सूचीबाट सांसद चयन हुन लागेका नेताहरु क्रमश: विमलेन्द्र निधि, डा. प्रकाशशरण महत र जीवन परियार ।

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।

प्रतिनिधि सभासँगै प्रदेश सभाका समानुपातिकको नाम टुंगो लगाउन शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । एक पदाधिकारीका अनुसार प्रतिनिधिसभासँगै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम टुंगिएको छ ।

प्रदेश १, मधेस, बाग्मती र लुम्बिनी प्रदेशको नाममा भने सहमति भइसकेको छैन । त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुसँग परामर्श गर्दैछन् ।

देउवाले निधि छान्दा श्रेष्ठ छुटे

प्रतिनिधिसभाको समानुपातिकमा ३२ सिट पाएको कांग्रेसमा ३ जना पुरुष को को पठाउने भन्ने विवाद थियो ।

संंघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिलाको नाम पठाउनुपर्ने थियो । सूची बनाउँदा नै क्रम मिलाएकाले यसमा धेरै विवाद थिएन ।

पुरुषतर्फ भने सबै क्लस्टरको पहिलो नम्बर प्रभावशाली नेताहरु थिए । खसआर्य पुरुषतर्फ प्रवक्ता प्रकाशशरण महत, आदिवासी जनजातितर्फ पूर्व उपसभापति गोपालमान श्रेष्ठ, मधेसी पुरुषतर्फ अर्का उपसभापति विमलेन्द्र निधि र दलिततर्फ सहमहामन्त्री जीवन परियार थिए । यस्तै थारु पुरुषतर्फ योगेन्द्र चौधरी र मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमै सहमहामन्त्री फरमुल्लाह मन्सुर थिए ।

तर बढीमा तीन जना मात्र पठाउन पाउने भएपछि नाम टुंगो लगाउन सहज थिएन ।

प्रत्यक्षतर्फ दलित समुदायबाट एक जना पनि उम्मेदवार नबनाएकाले सहमहामन्त्री जीवन परिवारलाई पठाउनुपर्ने डा. शेखर कोइराला समूहको लबिङ थियो । उनलाई लैजान बाँकी २ सिटमा सभापति देउवाले प्रकाशशरण महत र विमलेन्द्र निधि रोजेका छन् । यससँगै गोपालमान श्रेष्ठ, योगेन्द्र चौधरी र फरमुल्लाह मन्सुर समानुपातिक सांसद बन्न सकेनन् ।

आरजु र मञ्जु दुबै सांसद

महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु सांसद भएकी छन् । कांग्रेसले खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ । प्रसाईं, गौतम र रावल संस्थापन इतर पक्षका हुन् भने बाँकी देउवा समूहका हुन् ।

आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ। बोखिम, राजभण्डारी र थापा मगर संस्थापनइतर समूहका हुन् ।

दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् । सीता संस्थापनइतरका हुन् ।

मधेशीमा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन् । मुक्ता संस्थापन इतरकी हुन् ।

यस्तै, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np