Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

मोरक्कोका हँसिला गोलकिपर यासिन बोनो

२८ मंसिर, काठमाडौं । विश्वकप २०२२ अफ्रिकी राष्ट्र मोरक्कोको लागि एक स्वर्णिम प्रतियोगिता हो । यसमा अप्रत्याशित नतिजा निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको मोरक्कोका लागि गोलकिपर यासिन बोनो नायक हुन् ।

मोरक्को, अफ्रिकी तथा अरेबियन राष्ट्रहरुमध्ये विश्वकपको सेमिफाइनल खेल्ने पहिलो राष्ट्र हो ।

एटलस लायन्सको रुपमा परिचित टिमले विश्वकपमा यति लामो यात्रा तय गर्नुमा मोरक्कोका गोलकिपर यासिन बोनोको ठूलो हात छ । यो टिमले अहिलेसम्म २ गोल मात्र खाएको छ । क्यानडासँगको खेलमा एक गोल र एक आत्मघाती गोलका कारण मोरक्कोको खातामा जम्मा २ गोल रहेको छ । जसमा एक गोल आफ्नै डिफेन्डरको गल्तीका कारण भएको थियो ।

मोरक्कोको डिफेन्सिभ लाइन पनि कम बलियो छैन । विपक्षी खेलाडीको ध्यान भने डिफेन्डर भन्दा पनि गोलपोष्टमा रहेका बलिया खम्बा बोनोमा हुन्छ ।

उनी एक शान्त स्वभावका व्यक्ति हुन् । मैदानमा अरु खेलाडी तनावमा खेलिरहेका बेला उनी मुस्कुराउँदै पोस्टको जिम्मेवारीमा खरो उत्रिरहेका हुन्छन् ।

bounou

अन्तिम–१६ मा स्पेनसँगको खेल पेनाल्टी सुटआउटमा गयो । खेलाडी तथा समर्थक आत्तिरहेका थिए । उनी भने हाँस्दै पेनाल्टी बचाउ गरिरहेका थिए ।

३१ वर्षीय बोनो पेनाल्टीका बेला मुस्कुराउँदै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । अन्तिम १६ को खेलमा स्पेनका खेलाडीको होस उडाउने खालको थियो बोनोको हाँसो र कलात्मक किपिङ ।

उनको यो कलात्मक हाँसोले पोर्चुगल र स्पेनलाई निराशा दिएको थियो ।

‘उनी मुस्कुराएनन् भने समस्या हो’, मोरक्कोका पूर्व गोलकिपिङ प्रशिक्षक क्रिस्टोफ रेवेलले रेडियो फ्रान्स इन्टरनेशनलसँग भने ।

बोनो एक शान्त र निकै भलाद्मी स्वभावका गोलकिपर हुन् । अन्तर्वार्ताको क्रममा उनले निकै सम्हालिएर उत्तर दिन्छन् । उनी यदि फुटबलर नभएको भए शैक्षिक क्षेत्रमा आवद्ध हुन्थे होलान् ।

बोनो क्यानडामा जन्मिए पनि तीन बर्षको उमेरमा मोरक्को आएका थिए । मध्यम वर्गीय परिवारमा हुर्किएका बोनोको पढाइ मोरक्कोको उत्कृष्ट मध्ये एक फ्रेन्च विद्यालयमा भएको थियो ।

उनको व्यवहारमा अंहकार र घमण्ड भन्ने कहिल्यै देखिएन । उनको शान्त स्वभावले गर्दा उनी जस्तो सुकै तनावको स्थितिमा पनि हाँस्न सक्छन् ।

Image

८ वर्षको उमेरमा ब्याड एथ्लेटिक क्लबमा आवद्ध भएपछि उनले मोरक्कोको सबैभन्दा सफल फुटबल क्लबमा सिक्ने मौका पाए । सन् २०११ मा पहिलो पटक अफ्रिकी च्याम्पियन्स लिगमा ट्युनिसियन जायन्ट्समा खेल्ने मौका पाए । जहाँ उनले एस्पेरेन्स स्र्पोटिभविरुद्ध खेलेका थिए ।

‘मेरो लागि पहिलो खेल खेल्नु सहज थिएन । मलाई त्यो बेला लागेको थियो, यो खेल बिग्रियो भने मेरो करिअर अर्कैतिर जान्छ भन्ने मलाई थाहा थियो’ उनले मोरक्कोको एम ट्वान्टी फो टिभीलाई दिएको अन्तर्वार्तामा भनेका थिए ।

उनले पहिलो खेलको क्रममा घानाको टिमविरुद्ध उत्कृष्ट बचाउ गरे । तर उनको टिमले खेल भने हा¥यो । नतिजा खराब आए पनि उनलाई त्यो खेलले राम्रो एक्सपोजर मिल्यो । उनलाई एट्लेटिको मड्रिडबाट खेल्ने प्रस्ताव आयो । कम तलब दिने गरी बोलाइए पनि उनले एक्सपोजर पाउने आशामा उक्त प्रस्ताव स्वीकार गरे ।

उनले स्पेनको दोस्रो डिभिजनको क्लबमा पनि खेले । रियल जारागोजाबाट फेरी फेरि गिरोना एफसीमा आए । गिरोनापछि हाल सेभियामा खेलिरहेका छन् ।

२०२१–२२ को उनको बचाउ प्रतिशत हेर्ने भने ७८ प्रतिशत रहेको छ । जुन युरोपियन लिगमा उत्कृष्ट छैटौंमा पर्छ । २०२१ मा उनले खेलेका ५९ खेलमा ३२ क्लिनसिट राखेका छन् ।

रेवेलले भने, ‘उनी एक उत्कृष्ट गोलरक्षक हुन् । उनी वान भर्सेज वान पोजिसनमा पनि निकै राम्रो बचाउ गर्न सक्छन् र उडेर आएको बल रोक्ने कला पनि उनको उत्कृष्ट छ । उनी यदि इङ्ल्यान्ड तथा बेल्जियमका किपर भएका भए, एक स्टार खेलाडीको रुपमा अगाडि आइसक्थे ।’

मैदान बाहिर पनि उनी निकै शान्त स्वभावमा रमाउने मानिस हुन् । सेभियामा उनी अन्य दुई मोरक्कोन खेलाडी यूसुफ एन–नेसरी र मुनिरको अभिभावक बनेका छन् ।

पूर्व खेलाडीहरुसँग पनि उनको सम्बन्ध सुुमधुर छ । टिमका खेलाडीसँग निकै राम्रो सम्बन्ध बनाउन मन पराउँछन् । पोर्चुगललाई पराजित गर्दै सेमिफाइनल पुगेका बेला उनले म्यान अफ द म्याचको अवार्ड एन–नेसरीलाई समर्पित गरेका थिए ।

Morocco's goalkeeper Yassine Bounou

उनी आफू सार्वजनिक व्यक्ति भएका कारण कहाँ कसरी व्यवहार गर्ने भन्ने कुरा खुब ख्याल राख्छन् । उनले एमट्वान्टी फो टिभीको अन्तर्वार्तामा भने, ‘हामीले राम्रो खेल्नु हाम्रो जिम्मेवारी हो । त्यति मात्रै होइन हामीले अन्तर्राष्ट्रिय स्तरमा मोरक्कोको प्रतिनिधित्व गरिरहेको कुरालाई पनि ध्यानमा राख्नुपर्छ । हामी त्यसरी नै काम गरिरहेका हुन्छौं ।’

‘जसरी हामीलाई नायवेड र जङ्कीले बाटो देखाए, हामीले पनि मोरक्कोको आउँदो पिँढीलाई उदाहरण दिने वातावरण बनाउनुपर्छ । तब मात्र उनीहरुले हामीलाई पछ्याउनेछन्’, बोनोले भने ।

मोरक्को सन् २०२२ को विश्वकपमा यति अघि आउनुको मुख्य कारणको रुपमा बोनोको बचाउ क्षमता रहेको धेरैले बताउँछन् ।

खेल पश्चात पत्रकारहरुसँग बोल्दै प्रशिक्षक वालिद रोग्रुगाइले पनि यो कुरालाई पुष्टि गरे । ‘बोनो जस्तो गोलकिपर टिममा छा् भन्ने थाहा भएपछि पनि निकै आत्मविश्वास बढ्छ । उनी विश्वको उत्कृष्ट किपरमध्ये एक हुन् ।’

मोरक्कोले फ्रान्ससँगको सेमिफाइनल खेलमा बोनोको प्रयोगमा कमी ल्याउने छैन । प्रशिक्षक रेग्रुगाईले रक्षात्मक पङ्क्ति र बोनोको मद्दतले डिफेन्डिङ च्याम्पियनलाई रोक्ने कोशिस गर्नेछन् । अलजजिराबाट

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np