Global Force Media

२०८० फाल्गुन १५ - Tue Feb, 2024 -

त्रिशूली अस्पताल उत्कृष्ट

त्रिशूली अस्पताल उत्कृष्ट

त्रिशूली – न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा त्रिशूली अस्पताल नुवाकोट ९६ प्रतिशत अङ्कसहित देशभरको उत्कृष्ट अस्पताल घोषित भएको छ । आर्थिक वर्ष २०७९/०८० मा नेपाल सरकारको ‘अस्पतालको गुणस्तर सुधारको लागि न्यूनतम सेवा मापदण्ड’को शुक्रबार गरिएको अनुगमनको आधारमा उत्कृष्ट अस्पताल भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. दीपेन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार देशभर रहेका ‘सेकेण्डरी ए’ समूह अन्तरगतका अस्पतालमध्येमा त्रिशूली अस्पताल तेस्रो पटक सर्वोकृष्ट अस्पताल घोषित भएको हो । “अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा, विद्यमान जनशक्ति, अस्पतालको सुशासन तथा पारदर्शितालगायत विज्ञ टोलीको अनुगमनको आधारमा यसवर्ष ९६ प्रतिशत अङ्क प्राप्त भएको छ”, अस्पतालका मेसु डा पाण्डेले भने, “शतप्रतिशत पुर्‍याउने भए पनि अझै केही सुधार गर्न विज्ञबाट दिएको सुझाव तथा निर्देशनको पालना गरेर आगामी वर्ष उक्त लक्ष्य पूरा गर्नेछौँ ।”

यसअघि त्रिशूली अस्पताल आर्थिक वर्ष २०७७/७८ मा ८८ प्रतिशत र २०७८/७९ मा ९४ प्रतिशत अङ्क ल्याएर देशभरमा सर्वोकृष्ट अस्पताल घोषित भएको थियो ।

विज्ञमार्फत दिएको निर्देशन तथा सुझाव अस्पतालको नियमित सेवासँग सम्बन्धित भएकाले त्यसको पनि सुधार गरेर अर्को वर्ष शतप्रतिशत हासिल गर्ने लक्ष्य लिएको अस्पतालका अध्यक्ष राजु पण्डितले प्रतिबद्धता जनाए । विज्ञ टोलीले अस्पतालको शुक्रबार अनुगमन पश्चात आयोजित कार्यक्रममा नतिजा सार्वजनिक गरेको हो ।

अस्पतालको गुणस्तर सुधारको लागि न्यूनतम सेवा मापदण्डमा यो वर्ष बर्दिया जिल्ला अस्पताल ९५ प्रतिशत अङ्कसहित दोस्रो र धादिङ अस्पताल ९३ प्रतिशत अङ्कसहित तेस्रो भएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले जानकारी दिए । रासस

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np