Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

टाइगर कप भलिबल : महिलातर्फ एपीएफ र आर्मी फाइनलमा भिड्ने

टाइगर कप भलिबल : महिलातर्फ एपीएफ र आर्मी फाइनलमा भिड्ने

पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा

पोखरा । पोखरामा जारी तेस्रो टाइगर कप भलिबलमा महिलातर्फको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । बिहीबार भएको सेमिफाइनलबाट उपाधिका लागि भिड्ने टिम तय भएको हो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा एपीएफले २५–१३ ले तथा दोस्रो सेटमा २५–१७ को सहज जित निकाल्न सफल भयो । तेस्रो सेटमा सुरुवाती समयमा पछि परेको एपीएफले पुनरागमन गर्दै २५–२१ सेटमा जित निकाल्न सफल भयो ।

यो सँगै एपीएफ लगातार तेस्रोपटक उपाधि नजिक पुगेको हो । पहिलो संस्करणमा पुलिससँग ३–० को सोझो सेटमा पराजित हुँदै उपाधि विमुख बनेको एपीएफले दोस्रो संस्करणमा आर्मीलाई हराउँदै उपाधि जितेको थियो ।

दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हराउँदै फाइनल यात्रा तय गरेको हो । आर्मीले पहिलो सेट गुमाएर पनि आर्मी पुनरागमन गर्न सफल भएको थियो । पहिलो सेटमा २३–२५ ले गुमाए पनि त्यसपछि २५–१३,२५–२२ र २५–१२ नतिजा निकाल्दै आर्मी विजयी भएको थियो । आर्मीले अब अर्को विभागीय टोली नेपाल एपीएफ क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

पुरुषतर्फको राउण्ड रोविन लिगका खेल सकिएसँगै घरेलु टोली गण्डकी प्रदेशसहित एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब सेमिफाइनल खेल्ने भएका छन् । लिग तालिकाका आधारमा ४ खेलमा ४ वटै खेल जित्दै १२ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको एपीएफले एक खेल जितेर २ अंक जोडेको नेपाल पुलिस क्लबसँग खेल्नेछ । यस्तै ३ खेल जितेर ८ अंक जोडेको गण्डकी प्रदेशले २ खेलेर जितेर ५ अंक जोड्दै तेस्रो बनेको त्रिभुवन आर्मीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ ।

पुरुषतर्फको लिग चरणको खेलमा घरेलु टोली गण्डकीले पाहुना टोली सेन्ट जोशेफ वाज स्पोर्ट्स क्लबलाई ३–० सोझो सेटमा हराएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट गण्डकी २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा २५–१४ को सहज जित हात पारेको गण्डकीले तेस्रो सेटमा पछि परेको स्थिति उल्ट्याएर २५–२३ को जित निकाल्न सफल भयो ।

जितसँगै गण्डकी सेमिफाइनल प्रवेश गर्दा पाहुना टोली सेन्ट जोशेफ भने बाहिरिएको छ । प्रतियोगितामा कुनै पनि खेल नजितेको सेन्ट जोशेफले नेपाल पुलिस क्बलसँग १ अंक खोस्दै अंक तालिकाको अन्तिममा रहँदै प्रतियोगिता टुंगाएको हो ।

दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । आर्मीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसलाई हराउने क्रममा आर्मीले २५–१७, २५–१९ र २५–२३ सेटको नतिजा निकालेको थियो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार महिलातर्फ तेस्रो स्थानका लागि न्यु डायमण्ड र गण्डकी प्रदेश भिड्नेछन् । पुरुषतर्फ पहिलो सेमिफाइनलमा एपीएफले नेपाल पुलिससँग खेल्नेछ भने दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशले आर्मीको सामना गर्नेछ ।

महिला–पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np