Global Force Media

२०८० आश्विन १८ - Thu Oct, 2023 -

सरुवामा अब भनसुन चल्दैन : मन्त्री मोदी

सरुवामा अब भनसुन चल्दैन : मन्त्री मोदी

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बताएका छन् । विराटनगरमा आज नेपाल राष्ट्रिय कर्मचारी संगठन १ नम्बर प्रदेशको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

कर्मचारी सरुवाको बेथिति न्यूनीकरणका लागि केही नीतिगत व्यवस्था गर्ने बताउँदै मन्त्री मोदीले भने, ‘सरुवामा नेताले भनिदिनुपर्ने वा नेतालाई भन्न लगाएर सुगम ठाउँमा बस्ने जुन प्रवृत्ति छ, त्यसको अन्त्यका लागि केही नीतिगत व्यवस्था गर्छौ, सरुवामा अब भनसुन चल्दैन ।’

भरखरै बढुवा भएका उपसचिवलाई कसैको कुरा नसुनीकन स्थानीय तहमा पठाएर भनसुन प्रवृत्ति अन्त्यको थालनी गरेको समेत मन्त्री मोदीले उल्लेख गरे । भनसुन अन्त्यका लागि सुरुवात आफ्नैबाट गर्नुपर्ने बताउँदै मन्त्री मोदीले पार्टी निकट कर्मचारीहरूलाई भने, “हाम्रै पार्टीको प्रधानमन्त्री छ, हाम्रै पार्टीको मन्त्री छ, अब जे भन्यो त्यही हुन्छ भन्ने तपाईंहरुले सोच्नुभएको छ भने त्यो भ्रम त्याग्दा हुन्छ ।”

माओवादी नेतृत्वको सरकार भएको बेला माओवादी निकटका कर्मचारीहरूले भनेकै ठाउँमा सरुवा हुनुपर्छ भन्ने मानसिकता त्याग्न समेत मन्त्री मोदीले आग्रह गरे । उनले भने, “मेरो आग्रह छ, माओवादीको सरकार छ, हामीले भनेकै ठाउँमा सरुवा हुनुपर्छ भन्ने तपाईंहरुको मानसिकता छ भने त्यो मानसिकताबाट मुक्त हुनुहोला ।”

ट्रेड युनियनमार्फत राजनीतिमा सक्रिय कर्मचारीहरूले पनि पहिला जनताको सेवालाई प्राथमिकता राख्न निर्देशन दिए । जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको पाइए निर्मम भएर कानुनी रूपमा कारबाहीको दायरामा ल्याउने मन्त्री मोदीले चेतावनी दिए ।

प्रधानमन्त्रीको मुख्य प्राथमिकता मुलुकमा सुशासन कायम गर्ने भएकाले सरकारको प्राथमिकताअनुसार सेवा प्रवाह गरी सुशासन कायम गर्नका लागि जोड दिन समेत मन्त्री मोदीले निर्देशन दिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np