Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

रामचन्द्र पौडेललाई भोट माग्दै देउवाले ओलीलाई लेखे पत्र

काठमाडौँ- राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्‍ना उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । सोमबार एमाले अध्यक्ष ओलीलाई पत्र पठाएर पौडेललाई भोट मागेका हुन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोट पुगेर ओलीलाई देउवाले भोट मागेको पत्र बुझाएका छन् ।

‘विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहिआएको छ’ देउवाले ओलीलाई लेखेको पत्र भनिएको छ ‘यही पृष्ठभूमिमा माननीय पौडेलका लागि राष्ट्रपतिमा तपाईं समेतसँग मत माग्नु र विमतिबीचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु ।’

सालिन, बौद्धिक र सु-संस्कृत छविका पौडेल रहेको भन्दै देउवाले लेखेका छन् ‘लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनुहुन्छ नै संविधानप्रदत्त संवैधानिक दायित्व राजनीतिक आग्रहहरुभन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुहुन्छ ।’

‘लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौं । यो अभ्यासले समाजलाई सु-संस्कृत सन्देश दिन सक्नुपर्छ । त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु’ पत्रमा लेखिएको छ ‘राष्ट्रपति पदमा माननीय श्री रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छु ।’

एमालेले सोमबार मात्रै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको छ ।

यस्तो छ देउवाले ओलीलाई लेखेको पत्र

श्री केपी शर्मा ओलीजी,
अध्यक्ष, नेकपा एमाले

बिषय: राष्ट्रपति निर्वाचनमा समर्थन या मित्रवत प्रतिस्पर्धाका लागि

यही फागुन २५ गते हुने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदको निर्वाचनमा यतिबेला हामी खुला प्रतिस्पर्धाको क्रममा लोकतान्त्रिक प्रणालीको सौन्दर्य अनुरुप आ-आफ्ना दृष्टिकोण र उम्मेदवारका साथ खडा छौं ।

लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौं । यो अभ्यासले समाजलाई सु-संस्कृत सन्देश दिन सक्नुपर्छ । त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु। राष्ट्रपति पदमा माननीय श्री रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छु ।

राष्ट्रपति केबल एउटा पद नभएर स्वयं आफैंमा उच्च गरिमायुक्त संस्था हो भन्ने हामी जान्दछौं । यस्तो संस्थाको नेतृत्व चयन गरिरहँदा सम्भव भएसम्म वृहत्तर सहमति निर्माण हुनसकोस् भन्ने आम अपेक्षा हुन्छ भने सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सु-संस्कृत अभ्यासको खोजी हुन्छ ।

विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहिआएको छ । यही पृष्ठभूमिमा माननीय पौडेलका लागि राष्ट्रपतिमा तपाईं समेतसँग मत माग्नु र विमतिबीचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु ।

सालिन, बौद्धिक र सु-संस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनुहुन्छ नै संविधानप्रदत्त संवैधानिक दायित्व राजनीतिक आग्रहहरुभन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुहुन्छ ।

संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यभार कुशलतापूर्वक सम्पादन गर्दै देशको आर्थिक-सामाजिक रुपान्तरणतर्फ गतिशील ढंगले अघि बढ्नु हामी सबैको साझा दायित्व हो । यो दायित्व तपाईं, हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छु ।

जय नेपाल

शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस
०७९ फागुन १५

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np