Global Force Media

२०८० चैत्र ६ - Tue Mar, 2024 -

प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता

प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता

काठमाडौँ- नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रहरी प्रधान कार्यलयमा आज अवकाशमा जान लाग्नुभएका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्दै उनले अग्रजहरूले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने विश्वास दिलाए ।

उनले प्रहरी महानिरीक्षक सिंहलगायतको उच्च अधिकृतले प्रहरी सेवामा अनवरत नेतृत्वमा रहेर पुर्‍याएको सेवाप्रति अभार व्यक्त गरे । उनले अवकाश हुन लागेका महानिरीक्षक सिंहको आगामी जीवनको सफलताको शुभकामना दिए ।

अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सबै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सफल भएको र उक्त कार्यका लागि प्रहरी कर्मचारीबाट प्राप्त साथ र सहयोगको खुलेर प्रशंसा गरे । उनले प्रहरी कर्मचारी पनि शान्ति मिसनमा जाने सन्दर्भका विषयलाई आफूले अघि बढाएकाले अबको नेतृत्वले त्यो पूरा गरेर रोकिएका कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

उनले नवनियुक्त महानिरीक्षक कुँवरको कार्यकाल सफलताको शुभकामना दिए । सिंहसहित उनका ब्याची आज राति १२ बजेबाट अवकाशमा जाँदै छन् । नवनियुक्त महानिरीक्षक कुँवरले शनिबारदेखि कार्यभार सम्हालेका छन् ।

सिंहसँगै नौ प्रहरी अधिकृत अवकाशमा

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहित उनका ब्याची नौ जना प्रहरी अधिकृतहरू आजबाट अनिवार्य अवकाशमा जाँदै छन् । गत वैशाख १८ मा महानिरीक्षक पदमा पदोन्नति भएका सिंहले झण्डै एक वर्ष महानिरीक्षक भएर सेवा दिए । उनका ब्याचीहरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जाँदै छन् ।

आज राति १२ बजेदेखि उनीहरूको कार्यकाल सकिने भएकाले आजैको मन्त्रिपरिषद् बैठकले शनिबारदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा एआइजी वसन्तबहादुर कुँवरलाई बढुवा गर्ने निर्णय गरिसकेको छ । उनीहरू​सँगै तीन डिआइजी र दुई एसएसपीले पनि अनिवार्य अवकाश लिँदै छन् ।

प्रहरी प्रधान कार्यालयअनुसार प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी)द्वय उमाशङ्कर पञ्जियार र जनकराज पाण्डे पनि आज राति १२ बजेदेखि लागू हुने गरी अनिवार्य अवकाशमा जाने प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np