Global Force Media

२०८१ बैशाख २२ - Sat May, 2024 -

विगतको अनुदान बालुवामा पानीजस्तै भयो, यसपटक सिधै किसानको हातमा दिन्छौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताएका छन् ।

शुक्रबार दिउँसो काठमाडौँमा आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतमा अर्बौं, अरबका अनुदानका कार्यक्रम बने । तर, तिनीहरूको सही सदुपयोग हुन सकेन । जसले उत्पादन गर्छ, उसले अनुदान नपाउने स्थिति रह्यो । त्यो एक प्रकारले बालुवामा पानी हालेजस्तै भयो । विगतका अनुभवबाट शिक्षा लिएर सरकारले यसपटक सिधै किसानको हातमा पुग्ने गरी अनुदान दिने नीति लिएको छ ।’

विशिष्ट परिस्थितिमा गुज्रिएर नेपाल फर्किएकाहरूको पहलमा भएको भेलाले संगठनको कामसहित विदेशबाट फर्किएको जनशक्ति, पुँजी र सीपलाई एकीकृत रूपमा परिचालन गर्ने नीति र योजना पनि बनाउने विश्वास लिएका प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रकृतिले दिएको साधन स्रोतका दृष्टिले हामी गरिब छैनौँ, हामी धेरै धनी छौँ । हामीसँग जमिन, जंगल, हिमाल, जडीबुटी, जलविद्युतको उत्पादन र सदुपयोगमार्फत् निर्यातमुखी अर्थतन्त्रको विकास गर्नसक्ने प्रचुर सम्भावना छ । तर, त्यसको सही सदुपयोग गर्नुपर्ने चुनौती हाम्रासामु छ ।’

४० वर्षअघि खाद्यान्न निर्यात गर्ने नेपाल अहिले गरिब भएको भन्दै उनले भने, ‘हामीले विगतभन्दा राम्रो पढ्यौँ, राम्रो ज्ञान पनि आर्जन गयौँ । तर, हाम्रो श्रम संस्कृति कमजोर हुँदै गयो । हामी परनिर्भर हुँदै गयौँ । हामीले यसको गहिरो समीक्षा गर्न जरुरी छ । श्रम र मेहेनतविना संसारको कुनै पनि मुलुक बन्दैन र बनेको पनि छैन । त्यतातर्फ हामी सबैको ध्यान जान आवश्यक छ ।’

उत्पादन र रोजगारी नै अहिलेको मुख्य आवश्यकता रहेको बताउँदै उनले यसबाट मात्रै समाजवादको आधार निर्माण गर्न सकिने भएकाले यसपटकको नीति तथा कार्यक्रममा उत्पादन, रोजगारी र कृषिलाई सबैभन्दा उच्च महत्त्व दिएको बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np