Global Force Media

२०८१ बैशाख २१ - Fri May, 2024 -

वाम एकताको कुराले कांग्रेससँग सम्बन्ध टुट्ने छैन : प्रचण्ड

१८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुननपर्ने बताएका छन् । कम्युनिष्टहरुबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने उनले बताए ।

गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा चाबहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले लेफ्टहरुको युनिटीको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुनेछैन ।’

विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको भन्दै उनले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने बताएका हुन् । उनले भने, ‘कन्भिक्सनको लेभलमा मेरो कमिटमेन्ट छ । त्यसकारण यो प्रक्रिया अगाडि जान्छ, जानुपर्छ ।’ कांग्रेससँग मिलेर गणतन्त्रको रक्षा, शान्तिप्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजानुपर्ने उनले बताए ।

‘यसपटक म नभइ हुँदैन जस्तो लागेर प्रधानमन्त्री बनें’

यसपटक आफू प्रधानमन्त्री नबने देश दुर्घटनामा जाने सम्भावना देखेर कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेको पनि उनले बताए । जनतामाथि र संघीय गणतन्त्रमाथि खतराको घण्टी बजेको देखेर आफूलाई प्रधानमन्त्री बन्न मन लागेको बताउँदै उनले भने, ‘म नभइ हुँदैन जस्तो लाग्यो यसपटक । जसरी भए पनि प्रधानमन्त्री हुनुपर्यो भनेर म भएरै छाडेँ ।’

यस्तो गर्दा आफूलाई विचित्रको अनुभव भएको बताउँदै उनले भने, ‘मेरो मनस्थिति के मात्र हो भने देशभित्रको विसंगतिविरुद्ध लड्नको लागि म चाहिन्छ भन्ने कुरामा दृढ थिएँ र छु ।’

देशमा सुशासन, समृद्धि र न्यायको पक्षमा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको प्रधानमन्त्री प्रचण्डले बताए । सामान्य रुपमा सुधार हुने सम्भावना नभएको उनको भनाइ छ ।

गिरिजाको नामबाट विश्वविद्यालय स्थापना गर्ने आश्वास

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग विताएका क्षणको स्मरण गर्दै गिरिजा आफ्नो प्रेरणाको स्रोत भएको बताए । तर विगतमा गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदा आफूबाट गल्ती भएको उनले बताए ।

आफूले पटक–पटक गल्ती गर्दा पनि गिरिजाले भने विश्वास गर्दै संरक्षण गर्न नछाडेको उनले स्मरण गरे । ‘बरु मैले गल्ती गरें, उहाँले विल्कुल गर्नुभएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कतिपय सन्दर्भमा मैले गरेका प्रतिबद्धता जस्तोको तस्तै पूरा गर्न सकिनँ । तर उहाँले मलाई कुनै न कुनै रुपमा संरक्षण गर्न छोड्नु भएन ।’

उनले अगाडि भने, ‘मैले गणतन्त्र नेपालको पहिलो राष्ट्रपति प्रस्ताव गर्नुपर्थ्यो । तर मैले सकिनँ । मैले प्रधानमन्त्रीबाट राजीनामा दिने मनस्थिति बनाएपछि गिरिजाबाबुले पटक पटक राजीनामा नदिनुस् भनिराख्नुभयो ।’

अस्पतालमा भर्ना भएको बेला गिरिजाले आफूलाई एक्लै बोलाएर ‘सम्हाल्नुस् यो देश’ भनेको कुराले गिरिजाप्रति अगाध आस्था र विश्वास भइराखेको उनले बताए ।

उनले गिरिजाप्रसाद कोइरालाको नामबाट विश्वविद्यालय स्थापना गर्नुपर्ने भनेर पेश भएको प्रस्तावलाई मन्त्रिपरिषदबाट अघि बढाउने आश्वासन समेत दिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np