Global Force Media

२०८१ बैशाख १८ - Tue Apr, 2024 -

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा एसईईको नतिजा सुधार

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको सङ्ख्या ७८ प्रतिशतले वृद्धि भएको छ । गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका थिए । यस वर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० छात्रछात्राले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । आवेदकमध्ये गएको वर्ष १२५ जना गयल भए भने यस वर्ष ५० जना मात्र गयल देखिए ।

‘यो तथ्याङ्कबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको देखिन्छ । विद्यालय शिक्षाप्रति विद्यार्थीहरू नियमित हुन थालेका छन् । हामीले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि गरेको छ’ महानगरले भनेको छ ।

गएको वर्ष ‘ए’ ग्रेड ल्याउने छात्रछात्राको सङ्ख्या ३२५ (८.२४ प्रतिशत) जना थियो । यस वर्ष ४८६ (१२.४२ प्रतिशत) पुगेको छ । यो ५१ प्रतिशत वृद्धि दर हो । गएको वर्ष ६९७ (१७.६८ प्रतिशत) जनाले ‘वी प्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए । यस वर्ष ८०४ (२०.५५ प्रतिशत) जनाले ‘बी प्लस’ ग्रेड ल्याएका छन् । यो १६ प्रतिशत वृद्धि हो । गएको वर्ष ‘वी’ ल्याउने विद्यार्थीको सङ्ख्या ९६६ (२४.५०प्रतिशत) थियो । यस वर्ष ९७४ (२४.९० प्रतिशत) पुगेको छ ।

गएको वर्ष १००४ (२५.४६ प्रतिशत) को ‘सी प्लस’ ग्रेड आएको थियो । यस वर्ष ‘सी प्लस’ ल्याउने विद्यार्थीको सङ्ख्या घटेर ९१३ (२३.३४ प्रतिशत) पुगेको छ । यसको घट्दो प्रतिशत (–८ प्रतिशत) हो । यससँगै ‘सी’ ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या (–२९ प्रतिशत) ले घटेको छ । गएको वर्ष यस ग्रेडमा ६२० जना (१५.७२ प्रतिशत) उत्तीर्ण थिए । यस वर्ष ४३५ (११.१२ प्रतिशत) मा घटेको छ ।

महानगरभित्रका सामुदायिक विद्यालयमा यस वर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको सङ्ख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या घटेको यो तथ्याङ्कले देखाएको छ ।

शैक्षिक सुधार कसरी भयो भन्ने जिज्ञासामा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) भन्छन्, ‘गणित र विज्ञान विषयका लागि ५० वटा विद्यालयमा ५७ जना शिक्षक सहयोगी परिचालन ग¥यौँ । गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषयमा सुधार गर्न सबै विद्यालयका लागि १७ जना शैक्षिक सहजकर्ता परिचालन गर्यौँ । उहाँहरूको संलग्नताले छात्रछात्राको शैक्षिक विकास कक्षा कोठाभित्र मात्र होइन । बाहिर समग्र रूपमा वृद्धि भएको छ ।’

उनी भन्छन्, ‘९० जना शिक्षकलाई १० घन्टे आइसीटी इन एजुकेसन तालिम प्रदान गर्यौँ । शिक्षासँग प्रविधिलाई जोड्न र शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल वियोन्डसँगको सहकार्यमा तालिम भएको थियो । प्रविधिमैत्री सिप विकास, शिक्षकको विषयगत क्षमता विकास र शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षकको समग्र चेतना विकासको लागि आधारभूत प्रशिक्षण, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार कार्यक्रम हाम्रा सफलताका लागि साथ दिने कार्यक्रम हुन् ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np