Global Force Media

२०८१ बैशाख २२ - Sat May, 2024 -

पोल्याण्ड र दुबई पठाइदिने भन्दै बंगलादेशी नागरिकलाई काठमाडौंमा एक महिनादेखि बन्धक

पोल्याण्ड र संयुक्त अरब इमिरेट्स (दुबई) लैजाने बहानामा ८ बंगलादेशी नागरिकलाई काठमाडौंमा बन्धक बनाएर राखेको खुलेको छ।

आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बन्धक बनाइएका र बनाउनेलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

तीन जनालाई एक महिनाअघि र ५ जनालाई ८/१० दिनदेखि बन्धक बनाएर राखेको अवस्थामा अपराध अनुसन्धान कार्यालयले उद्धार गरेको हो।

६ जनालाई शुक्रबार र २ जना महिलालाई शनिबार बिहान उद्धार गरेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोजकुमार केसीले जानकारी दिए।

‘पहिला उद्धार गरेर बन्धक बनाउने गिरोहलाई नियन्त्रणमा लिएका हौं,’ उनले भने।

उनका अनुसार उद्धार हुनेमा बंगलादेशी नागरिक मोहम्मद नाजुल, मोहम्मद यासिम, इब्रहाम होसेन, मोहम्मद अल अमिन छन्। उनीहरूलाई प्रहरीले शुक्रबार उद्धार गरेको हो।

उनीहरू चार जनालाई काठमाडौं महानगरपालिका वडा-९ कालीमाटीडोल स्थित मेमोरियल गेष्ट हाउसबाट उद्धार गरिएको थियो।

रोजन र फर्हाद हुसेनलाई पनि शुक्रबार नै ललितपुर महानगरपालिका-२८ हरिसिद्धीबाट उद्धार गरिएको एसएसपी केसीले बताए।

त्यस्तै, सपना र रूमा अक्तेरलाई भने शनिबार बिहान काठमाडौं महानगरपालिका-१ नक्सालबाट उद्धार गरिएको हो।

उनीहरूको पोल्याण्ड पठाउने बहानामा बन्धक बनाएर लाखौं रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बंगलादेश गाजीपुर घर भई काठमाडौं कालिमाटीडोल बस्ने ४७ वर्षीय अमिर होसेन, बंगलादेश बरिसाल घर भई हरिसिद्धी बस्ने ३७ वर्षीय मोहम्मद मोशिउर रहमान, बंगलादेश कुमिल्ला घर भई हरिसिद्धी बस्ने ३८ वर्षीय सलिम मिया र उनकी श्रीमती सिन्धुपाल्चोक घर भएकी २७ वर्षीय तारा नेपाली छन्।

त्यस्तै बंगलादेश ढाका घर भई काठमाडौं हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम, ढाका घर भई काठमाडौं कपुरधारा बस्ने ३४ वर्षीय जाहङगिर आलम र इलाम घर भई काठमाडौंको नक्साल बस्ने ३३ वर्षीया रोशनी राईलाई पक्राउ गरिएको हो।

यसरी बंगलादेशी नागरिकलाई भिजिट भिसामा नेपाल बोलाइ बन्धक बनाएर थप पैसा असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धामा खुलेको छ।

कसरी परे बंगलादेशी नागरिक बन्धकमा?

बंगालीदेशी नागरिक ४० वर्षीय राजन र ३० वर्षीय फर्हाद होसेन असार २८ गते पोल्याण्ड जाने सपना बोकेर भिजिट भिसामा नेपाल भित्रिए।

गाउँकै चिनजानको एजेन्ट मार्फत पोल्याण्ड जान सहज हुने सोँचमा उनीहरू नेपाल आएका थिए। यहाँ आएर आफूहरूलाई मोहम्मद मोशिउर रहमान र अमिर होसेनले अन्तर्राष्ट्रिय विमानस्थलमा लिन आएको राजनले बताए।

‘पहिलोपटक नेपाल आएको भएर उनीहरूले जहाँ-जहाँ भन्यो त्यही गयौँ,’ राजनले भने।

उनीहरूलाई विमानस्थलबाट सिधै नयाँ बसपार्कस्थित सुभलक्ष्मी दैलेखी गेष्ट हाउसमा लगेर राखिएको थियो। ठाउँको नाम प्रहरीले भनेपछि मात्र राजनले थाहा पाएका हुन्।

राजन र फर्हादले प्रतिव्यक्ति १०/१० लाख टाका बुझाएका थिए। उनीहरूलाई एजेन्टले पोल्याण्ड पुगेपछि ५ लाख रूपैयाँ परिवारलाई फिर्ता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। तर उनीहरूले सोचेजस्तो भएन। नेपाल आइपुग्नसाथ उनीहरूलाई एक होटेलमा बन्धक बनाएर राखियो।

उनीहरूले सुरूवाती दिनमा बंगालादेशी नागरिक नै भएकाले पासपोर्ट र नागरिकतासहित आवश्यक कागजात एजेन्टकै हातमा थमाइदिए। त्यसपश्चात उनीहरूले साथमा भएको डलर खोसिएको उनीहरूको भनाइ छ।

उनीहरूलाई पोल्याण्ड जान आवश्यक कागजात तयार भइसकेको भन्दै साउन १८ गते पोल्याण्डको उडान भन्दै थप पैसा माग्न लगाएका थिए।

उनीहरूले थप पैसा नदिने भनेपछि तीन-चार दिनसम्म केही खान नदिई राखिएको र कोठाबाट बाहिर निस्किए घर फर्किन नपाउने धम्की दिएको उनीहरूको आरोप छ।

उनीहरूले पनि ज्यानै जाने डर भएपछि राजन र फरहाद दुई जनाले १४ लाख ५० हजार टाका बुझाएको बताउँछन्।

पैसा बुझाए पनि पोल्याण्ड जान नपाउने भएपछि आफन्तलाई फोन गरेर बन्धक बनाएको खबर गरे। त्यसपश्चात उनीहरूको आफन्त नेपाल आएर बन्धक बनाएको उजुरी प्रहरीमा दिएर फर्किएका थिए।

उनका आफन्तले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो।

त्यस्तै पोल्याण्ड जाने सपना बोकेर ३४ मोहम्मद यासिम पनि असार १६ गते नेपाल आइपुगेका थिए। भिजिट भिसामा नेपाल आएका उनी १ महिनामा सबै कागजात तयार गरी पोल्याण्ड पठाउने भनिएको थियो। तर त्यस्तो भएन।

उनलाई पनि बंगलादेशी नागरिकले एक कोठामा लगेर थुनेर राखे। त्यहाँ उनीहरूले थप पैसा माग्न भन्दै विभिन्न यातना सहे। उनले पोल्याण्ड जानका लागि १२ लाख रूपैयाँ बंगाली एजेन्टलाई बुझाएको प्रमाण छ।

‘आफ्नै देशको दाजुभाइ हुन भनेर विश्वास गरियो उनीहरूले नै बन्धक बनाए,’ यासिमले भने।

दुबई पठाउने भनेर २ लाख ५० हजार स्वेदशमै रकम बुझाएर आएका ३३ वर्षीया सपना र २५ वर्षीया रूमा अक्तरलाई सोही गिरोहले बन्धक बनाएर राखेका छन्।

उनीहरूलाई एक महिनामा सबै कागजात र ब्युटीपार्लरको काम सिकाएर दुबई पठाइदिने भनिएको थियो। तर उनीहरूलाई यहाँ ल्याएर मसाज सेन्टरमा यौन दुर्व्यवहार र मानसिक यातना दिइएको उनीहरूले बताएका छन्।

‘श्रीमानले अनुमती नदिँदा पनि जिद्दी गरेर आएकी थिएँ, अलपत्र परेको थाहा पाए श्रीमानले छोडिदिन्छ,’ सपनाले भावुक हुँदै भनिन्।

रूमाको पनि त्यस्तै हालत छ।

सपनाले १३ वर्षीय छोरा र रूमाले ५ वर्षकी छोरी छोडेर आएकी थिइन्।

उनीहरू आफ्नै देशको नागरिकबाट ठगीमा परेको र उनीहरूलाई कडा कारबाही गर्न माग गर्छन्।

यसरी नै ८ जनालाई एउटै गिरोहले विभिन्न देशमा पठाउने भनेर बोलाएर बन्धक बनाइ रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसएसपी केसीले जानकारी दिए।

‘बंगलादेशी नागरिकले समूह बनाएर धेरैलाई ठगी गरेको हुनसक्ने अनुमान गरिएको छ,’ उनले भने।

यसबारे थप अनुसन्धान भइरहेको छ। बन्धकमा परेका र बन्धक बनाउने गिरोह अझै बढ्न सक्ने अनुमान उनको छ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np