Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

जिल्ला खटिएका कांग्रेस प्रतिनिधिको निष्कर्ष : गुटले पार्टी कमजोर

३२ साउन, काठमाडौं । नेपाली कांग्रेसको संगठन सुदृढीकरणका लागि खटिएका नेताहरुले केन्द्रदेखि तल्लो तहसम्म गुटको संरचनाले आन्तरिक जीवन कमजोर भएको निष्कर्ष निकालेका छन् ।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वयको चरम अभाव रहेको केन्द्रीय प्रतिनिधिहरुले उल्लेख गरेका छन् ।

१० साउनमा सकिएको केन्द्रीय समितिको निर्णय अनुुसार पार्टीले ७७ जिल्लामा केन्द्रीय नेताहरुलाई संगठन सुदृढीकरणका लागि खटाएको थियो । केन्द्रीय प्रतिनिधिले २० देखि ३० साउनसम्म जिल्लामा रहेर पार्टीको आन्तरिक सुदृढीकरणमा लागेका थिए ।

अपूर्ण रहेको कार्यसमितिलाई पूर्णता दिने, नियमित बैठक बस्न लगाउने, रिपोर्टिङ लिने, सम्मेलन नभएको स्थानमा मिति तोक्न लगाउने केन्द्रीय प्रतिनिधिको जिम्मेवारी थियो । साथै, सम्मेलन स्थानको रिपोर्ट दिन लगाउने, आन्तरिक विवाद समाधान गर्ने, नयाँ क्रियाशील सदस्यता वितरण, नवीकरण लगायतका कामका लागि केन्द्रीय नेताहरु खटिएका थिए ।

१० दिने संगठन सुदृढीकरणको अभियानमा खटिएका नेताहरुले कांग्रेस कमजोर हुनुमा आन्तरिक समस्या नै प्रमुख कारक पाएका छन् ।

‘कांग्रेसका कार्यकर्ता बेहिसाब छन् । पार्टीभित्र ५/७ गुट देखिए’, धनुषामा खटिएका केन्द्रीय सदस्य नैनसिंह महरले भने, ‘एकले अर्कोसँग हराउनका लागि जतिबेला पनि लाग्ने सम्भावना छ । गुटभित्र पनि उपगुट बनेका छन् ।’

कांग्रेसमा निरन्तर रहने तर हराउनमा भूमिका खेल्न लागिरहने प्रवृत्ति रहेको उनले सुनाए ।

मधेश प्रदेशमा कांग्रेसको सांगठनिक अवस्था भद्रगोल छ । केन्द्रले पठाएको परिपत्र अनुसार काम नगर्नेमा मधेश पहिलो नम्बरमा छ । वडा देखि जिल्लासम्मको सम्मेलन अन्यत्रको तुलनामा मधेशमा सुस्त गतिमा छ । ‘केही केही ठाउँमा क्षेत्रीय सभापति पनि छैनन् । सबै तहले गर्नुपर्ने सम्मेलन प्रक्रियाकै क्रममा छ’, महरले भने ।

गत वैशाख १० मा भएको तनहुँ १ को उपनिर्वाचनमा कांग्रेसले एक सिट गुमायो । राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्र जोगाउन नसकेपछि नेता कार्यकर्तामा निराशा बढेको थियो । त्यहाँ पार्टीले केन्द्रीय सदस्य नानु बाँस्तोलालाई खटाएको थियो ।

संगठन सुदृढीकरणका लागि १० दिन तनहुँमा खटिएकी बाँस्तोला पार्टी कमजोर नभएको निष्कर्षमा पुगेकी छन् । काठमाडौं बसेर तनहुँको विश्लेषण गलत गरिएको उनले सुनाइन् ।

‘संगठनको अवस्था बलियो देखियो । एक पटकलाई हेरौं न भनेर मत नयाँ पार्टीलाई दिएका रहेछन्’, केन्द्रीय सदस्य बाँस्तोला भन्छिन्, ‘मान्छे बहकिएर नयाँ पार्टीलाई भोट दिएका रहेछन् । अहिले महसुस गरेका छन् । गोविन्द भट्टराईलाई नै भोट दिएको भए यो बर्षात्ले पु¥याएको दुःखमा देख्न पाइन्थ्यो नि भन्ने उहाँहरुलाई लागेको छ ।’

भदौभित्र जिल्ला तहका सबै संरचनाको सम्मेलन सक्ने कांग्रेसको तयारी छ । त्यस अनुसार जिल्ला सभापतिहरुले प्रतिवद्धता पनि जनाएका छन् । भदौ मसान्तसम्म सबै तहले सम्मेलन गर्ने प्रतिवद्धता गरेको इलाम पुगेकी केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन् ।

दोलखाका लागि खटिएका केन्द्रीय सदस्य मधु आचार्य पार्टी संगठन व्यवस्थित रहेको पाए । वडादेखि जिल्ला तहसम्म सबैको सम्मेलन दोलखाले सकिसकेको छ । ‘बैठक नियमित बसेको, बनाउनुपर्ने विभागहरु बनेको, सबै तहका सम्मेलनहरु सकिएको रहेछ’, आचार्यले भने । पार्टीको जिम्मेवारीमा रहेका कतिपय जिल्ला नेताहरु विदेशमा पुगेको यथार्थ आचार्यले सुनाए ।

दोलखाका लागि अर्को आन्तरिक समस्यामा नेता कार्यकर्ता धेरै जसो काठमाडौ बस्नु रहेको आचार्यले भेटे । ‘मिटिङ पर्दा दौडेर जिल्ला पुग्ने र अरु बेला पेशा व्यवसायका लागि काठमाडौंमै बसेको स्थिति देखियो’, आचार्यले भने ।

केन्द्रदेखि स्थानीय तहसम्म सरकार र पार्टीबीच समन्वय हुन नसकेको चिन्ता केन्द्रीय समितिको बैठकमा धेरै नेताले उठाएका थिए । पार्टी र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिबीच तालमेल हुन नसकेको जिल्ला पुगेका नेताहरुले स्थलगत जानकारी पाएका छन् ।

‘स्थानीय तहमा जितेका साथीहरु र पार्टी संरचनाबीच तालमेल अलि नभएको देखियो । समन्वयको अभावका कारणले गुनासो गर्नुभएको छ’, केन्द्रीय सदस्य आचार्यले भने ।

पार्टीको केन्द्रीय समितिको बैठकले नागरिकका दुखमा सहयोग गर्ने उद्देश्यले सेवा दल प्रत्येक गाउँ र नगरमा गठन गर्ने निर्णय गरेको थियो । सेवा दल गठनको प्रक्रिया सुरु गराउन केन्द्रीय प्रतिनिधिले सहजीकरण गर्ने कार्यादेश थियो ।

सेवा दलका लागि कार्यविधि केन्द्रीय तहबाट नबनेका कारणले गठन गर्न हाल सम्भव नभएको खटिएका प्रतिनिधिले बताएका छन् । सेवा दल गठनका लागि कार्यविधि नभएको हुँदा गठन प्रक्रिया सुरु हुन नसकेको पर्वत पुगेकी केन्द्रीय सदस्य उर्मिला थपलियाले जानकारी गराइन् ।

दुर्गम ग्रामीण क्षेत्रमा सेवा दलमा गठन गर्नका लागि युवाहरु प्राप्त नहुने हो कि भनी चिन्ता जिल्लामा पाएको दोलखाका खटिएका आचार्यले बताए । ‘उद्धार र राहतका काम खटिने युवा उमेर समूहका व्यक्ति हुन् । गाउँमा युवा पाउनै मुस्किल रहेको चिन्ता छ’, आचार्यले भने ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np