Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

विमानस्थल सुरक्षा सुधारका लागि गठित कार्यदलको अनुगमन तथा सुझाव संकलन

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सुधारका लागि सुझाव दिन सरकारद्वारा गठित कार्यदलले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरी जानकारी लिएको छ ।

पटकपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा त्रुटीका कारण तस्करीका सामान भित्रिने र बाहिरिने घटना दोहोरिन थालेपछि सरकारले गठन गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी नेतृत्वको कार्यदलले आज विमानस्थल क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिएको हो ।

अनुगमन पछिको बैठकमा अर्थ, गृह र पर्यटन मन्त्रालयका प्रतिनिधि, चारै वटा सुरक्षा निकायका प्रतिनिधिहरु तथा भन्सार, अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणका अधिकारी सहभागी थिए । बैठकमा अध्यागमन, भन्सार कार्यालय तथा प्राधिकरणबाट विमानस्थल सुरक्षाको हालको अवस्था र सुधारका विषयमा प्रस्तुतीकरण भएको थियो ।

गत भदौ अन्तिम साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा विमानस्थल सुरक्षा सुधारका लागि उच्चस्तरीय बैठक बसेको थियो । बैठकमा कार्यदल गठन गरी त्यसको प्रतिवेदनका आधारमा  विमानस्थलको सुरक्षा सुधार गर्ने उनले बताएका थिए ।

सोही बैठकको निष्कर्षका आधारमा सुरक्षा सल्लाहकार वैरागीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलका सदस्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दले आज कार्यदलबाट विमानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरी जानकारी लिएको बताए । कार्यदललाई प्रतिवेदन बुझाउने १५ दिनको कार्यादेश दिएको छ । कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विमानस्थलको सुरक्षामा सुधार गर्नुपर्ने विषय समेटेर प्रतिवेदन बुझाउने छ ।

विमानस्थलबाट ठूलो परिमाणमा सुनसहित लागूऔषध तस्करी भइरहेको छ । त्यसमा भन्सारका कर्मचारी संलग्न रहेको फेला परेको छ भने चिनियाँ भारतीय नागरिकसहित नेपालीहरूले सङ्गठित रूपमा सामान तस्करी गरिरहेको पाइएपछि सरकारले त्यसको नियन्त्रणका उपाय खोजी गर्न विमानस्थल सुरक्षा सुधारका लागि सुझाव दिन कार्यदल गठन गरेको हो । रासस

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np