Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

निजगढबाट ७ करोड ठगी गरेर फरार महिलालाई खोज्न प्रहरीको उदासीनता

बारा । निजगढ नगरपालिकामा विभिन्न व्यक्ति र संघसंस्थाको ७ करोडभन्दा बढी रकम ठगी गरेर फरार भएकी मनिला गौतम (निरु) लाई खोज्न प्रहरीले चासो नदेखाएको भन्दै पीडितहरुले गुनासो गरेका छन् ।

एक दर्जनभन्दा बढी सहकारी, लघुवित्त र व्यक्तिको रकम उठाएर फागुन ११ गते गौतम फरार भएकी थिइन् । उनको खोजी गरी आवश्यक कारबाहीका लागि पीडितहरुले गत असार २७ गते निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा र प्रहरी उपरीक्षक होबिन्द्र बोगटीलाई छुट्टाछुट्टै भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा सहकारी र लघुवित्त बाहेक पनि ४९ जना महिलाले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । तर, ज्ञापनपत्र बुझाएको डेढ महिना बितिसक्दा पनि सरोकारवाला निकायले कुनै सहयोग नगरेको निजगढ नगरपालिका–५ की एक पीडित भक्तकुमारी राउतले बताइन् । उनले प्रहरी प्रशासनले आफूहरुलाई कुनै सहयोग नगरेको गुनासोसमेत गरिन् ।

निजगढ नगरपालिका– ९ की कल्पना खरेलले पनि प्रहरीले हालसम्म जाहेरी दर्तासमेत नगरेको बताइन् । उनले भनिन्, ‘हामीले न्यायका लागि नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, एसपीलाई भेटेर ज्ञापनपत्र बुझायौँ तर अहिलेसम्म कुनै सुनवाइ भएको छैन, न्यायका लागि अब कसलाई भन्न जाने ?’

करोडौँ रुपैयाँ उठाएर फरार भएकी मनिला गौतम हाल विदेशमा रहेको पीडितहरुले जनाएका छन् । गौतमले स्थानीय गरिब, विपन्नदेखि धनाढ्य व्यक्तिहरुलाई समेत ठगेको खरेलको भनाइ छ । विभिन्न बहाना बनाएर, विभिन्न समस्या देखाएर गौतमले चिनजानको व्यक्तिहरुको जग्गा धितोमा राखेर संघसंस्थाबाट रकम झिकेको अनुसन्धानको क्रममा भेटिएको छ ।

गौतमले सगरमाथा साकोस, हिमचुली साना किसान कृषि सहकारी संस्था लि., विजय लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त, साना किसान कृषि सहकारी संस्था लि., राष्ट्रिय उत्थान लघुवित्त, समाधान साकोस, अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बचत तथा ऋण सहकारी संस्था, समुन्नत महिला साकोस लगायत सहकारी तथा लघुवित्तहरुको रकम लिएर फरार भएकी हुन् ।

गौतमले केही व्यक्तिलाई चेक र लिखित कागज दिए पनि कतिपयले भने विश्वासको आधारमा बिना प्रमाण रकम दिएको खरेलले जनाएकी छन् ।

निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले डेढ महिनाअघि महिला तथा पुरुषहरुको ठुलो समूह आफूकहाँ आएर मनिला गौतमले सबैसँग पैसा उठाएर फरार भएको विषयमा जानकारी गराएको बताए ।

‘त्यो ठगीको केस फौजदारी अभियोग अन्तर्गत नै मुद्दा चल्नुपर्ने भएकाले फरार महिलालाई झिकाउनका लागि पहल गर्ने र आवश्यक कानुनी प्रक्रिया सुरु गर्ने भन्ने निष्कर्षमा पुगेको हो, तर प्रहरीले अहिलेसम्म के के गरेको छ भन्ने मलाई पनि जानकारी छैन,’ नगरप्रमुख पुरीले भने, ‘प्रहरीले चाहेमा ईन्टरपोलमार्फत फरार महिलालाई झिकाउन सक्ने भएकोले प्रहरी मार्फत नै कारबाही अगाडि बढाउनुपर्छ ।’

नगरप्रमुख पुरीका अनुसार गौतमले ६ करोडभन्दा बढी रकम ठगेर फरार भएको पीडितहरुका तर्फबाट जानकारी आएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले भने फरार महिलाको विषयमा कागजपत्र संकलन भइरहेकाले छिटै मुद्दा दर्ता गराउने बताएका छन् । ‘यतिका माछेहरु पीडित हुनुहुन्छ, महिला दिदीबहिनीहरु मकहाँ आइरहनु भएको छ, मुद्दा दर्ता नगर्नुपर्ने कारण केही छैन । यसलाई जिल्ला प्रहरी कार्यालयले गम्भीर ढंगले हेरेको छ,’ प्रहरी उपरीक्षक बोगटीले भने, ‘यो घटनामा मुद्दा दर्ता गरेर पक्राउ पुर्जी जारी गर्नका लागि प्रक्रियामा गइरहेको छ । आजको आजैभन्दा पनि कागजपत्र मिलाउनुपर्ने भएकाले समय लागेको हो ।’

गौतमजस्तै यसअघि जीतपुर सिमरा उपमहानगर वडा नं १ की सिर्जना खड्काले पनि दर्जनौ संघसंस्था, व्यक्तिहरुबाट करिब २० करोडभन्दा बढी ठगी गरेर पीडितहरु विरुद्ध नै मिटरव्याजीमा मुद्दा हालेकी थिइन् । खड्काले व्यक्ति र संघसंस्थासँग उठाएको करोडौँ रकम कहाँ, कसलाई लगानी गरेकी छन् भन्ने विषयमा प्रहरी फितलो अनुसन्धान गरेको भन्दै पीडितहरुले गुनासो गरेका छन् । खड्का अहिले प्रहरी हिरासतमा छिन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np