Global Force Media

२०८१ जेष्ठ ८ - Tue May, 2024 -

सार्वजनिक पोखरीको जग्गा भूमाफियाकाे कब्जामा, १६ टुक्रा गरेर ११ जनालाई बिक्री

जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका १३ स्थित कवर्डहल नजिक रहेको भगवाना भन्ने सार्वजनिक पोखरी भूमाफियाले कब्जा गरी बिक्री वितरण गरेको रहस्य खुलेको छ । वर्षौदेखि सार्वजनिक रहेको ती पोखरी संरक्षक नै भक्षक भई मालपोत कार्यालय धनुषाका कर्मचारीको सहयोगमा भूमाफियाहरुले पोखरीलाई खरौरी (झारपात उब्जेको) जग्गा कागजमा परिणत गरी बिक्री वितरण गरेको आरोप स्थानीयहरुले आरोप लगाएका छन् ।


मंगलबार स्थानीयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्थानीय रामआशिष दासले फिल्डबूकमा सार्वजनिक पोखरी उल्लेख रहेको अवस्थामा मालपोत कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी नक्कली कागजात तयार पारी भूमाफियाहरुले विभिन्न व्यक्तिहरुको नाममा दर्ता गरिएको रजिष्ट्रेशन बदर गरी पुनः पोखरी नै कायम गर्न माग गरेका छन् ।

वर्षाैं पहिला हालको जनकपुरधाम ७ जानकी नगर निवासी भगवान साह नामको दाताले त्यहाँको स्थानीयको सुविधाका लागि पोखरी खनेका थिए । भगवान साहको परिवारमा भोगचलन गर्ने कोही सदस्य नभएपछि ती पोखरी हरेक सरकारी कागजातमा सार्वजनिक हुन गयो । तर केही वर्ष पहिला भगवान साहको नातेदार रहेको बताउने बुटन साह भन्ने व्यक्तिले भूमाफिया महावीर सिंहको नाममा ती पोखरीलाई रजिष्ट्रेशन गरिएको खुलेकाे हाे ।

ती महावीर सिंहले पोखरीलाई मालपोत कर्मचारीलाई मोटो रकम घुस खुवाई रातारात कागजमा खरौरी जग्गा बनाएर १६ कित्तामा टुक्रमा विभाजित गरी ११ जना व्यक्तिका नाममा बिक्री गरी दर्ता गरेको दासले बताए । हाल ती पोखरीको जग्गा महावीर सिंहले आफ्नो छोरा रविन्द्र सिंहको नाममा १२ कट्ठा २ धुर र ७ धुर एक कनमा दुईवटा टुक्रा नामसारी गरेका छन् ।

यस्तै महावीरले छोरा रविन्द्रको नाममा दर्ता बाहेक राजीव थापा, पार्वती श्रेष्ठ, संजयकुमार राउत, उर्मिलादेवी कुर्मी, समोदकुमार साह, रेणुका कुमारी यादव, प्रमोद कुमार साह, शत्रुधन बहादुर थापा, चन्द्रकिशोर साह र गीताकुमारी थापासँग बिक्री गरी दर्ता गरेका छन् ।

दुई कित्तामा १६ कट्ठा ६ धूर एक कनमा क्षेत्रफलमा रहेको सो पोखरी कित्ताकाट गरी विभिन्न ११ व्यक्तिको नाममा भूमाफियाले गरेको रजिष्ट्रेशन बदर गरी पूर्वस्थितिमा सार्वजनिक पोखरी कायम गरी पाउँ भनी जिल्ला अदालतमा स्थानीय मिथिला ठाकुरले गत वर्ष जेष्ठ महिनामा मुद्दा समेत दिएका छन् । ती मुद्दाको सुनुवाई गर्दै अदालतले रोक्का गरिसकेको जानकारी उजुरीकर्ता मिथिला ठाकुरले जानकारी दिए ।

जिल्ला अदालतका न्यायधिश तिर्थराज केसीले सरोकारवाला व्यक्तिको फुकुवा गर्न निवेदन आएमा पुनः विचार हुने हुँदा हालको निवेदनमा ती जग्गा कुनै प्रकारले हस्तान्तरण गर्न नपाउने गरी यथास्थितिमा राख्न मालपोत कार्यालयलाई निर्देशन दिदैं रोक्का गरेको हो । अदालतले गतवर्ष जेष्ठ १० गते नै मालपोत कार्यालयलाई जग्गा रोक्का राख्न पत्राचार समेत गरिसकेको छ ।

अदालतबाट रोक्का गरिएकै स्थितिमा पोखरीको जग्गा आफ्नो हो दाबी गर्ने भूमाफियाहरुले प्रहरीको सहयोगमा पोखरी माटोले पुर्न थालेपछि स्थानीयले विरोध गर्दै रोकाएका छन् । वडा कार्यालय समेतले सार्वजनिक पोखरीको संरक्षण र जिल्ला अदालतको आदेश कार्यान्वयन गर्दै दोषीहरुलाई माग सहित भदौ १० गतेका दिन सरोकारवाला निकाय जिल्ला समन्वय समिति, जनकपुर वृहत्तर क्षेत्र विकास परिषद, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रहरी कार्यालय र जनकपुरधाम उपमहानगरपालिकालाई पत्राचार समेत गरेको छ ।

वि.सं. २०२६ सालको सर्वे नापीमा साविकको गाउँ पञ्चायत पिडारी वडा नम्बर ५ (क) कित्ता नं. ५१ को १५ कट्ठा क्षेत्रफलमा रहेको ती पोखरी हालको शहरी नापीमा दुई कित्तामा विभाजित भई १६ कट्ठा ६ धुर एक कनमा भएको छ । हालको नापी अनुसार जिनकपुरधाम उपमहानगरपालिका १३ को सिट नंं. १३१४—०५ को कित्ता नं. २९ मा ८ कट्ठा ३ धुर ३ कनमा र सोही सिटको कित्ता नंं. २२ मा ८ कट्ठा २ धुर ३ कनमा भएको विभाजित रहेको छ । साबिकको सर्भेनापी र हालको शहरी नापी दुवै फिल्डबूकमा ती किताको जग्गा पोखरी नै रहेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np