राष्ट्रियसभाको उम्मेदवार चयन गर्न एमालेले बोलायो सचिवालय बैठक
१८ पुस, काठमाडौं । नेकपा एमालेले शुक्रबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार दिउँसो १२ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले बताए ।
बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन, मध्यपहाडी संकल्प यात्राको समीक्षा, आगामी कार्यक्रम लगायतबारे छलफल गर्ने सूची छ । विशेषगरी राष्ट्रियसभा सदस्यको उम्मेदवार बैठकको एजेण्डा बन्ने बताइएको छ ।
गत ८ पुसमा एमाले प्रदेश कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । आगामी २३ पुसमा राष्ट्रियसभाको १९ पदका निम्ति मनोनयन दर्ता हुँदैछ ।
सचिवालय बैठक अगाडि भोलि एमालेको प्रदेश पदाधिकारीहरुको भेला राखिएको छ । केन्द्रीय कार्यालय च्यासलमै पदाधिकारीहरुको भेला राखिएको केन्द्रीय कार्यालय सचिव अधिकारीले बताए ।