Global Force Media

२०८१ माघ ९ - Wed Jan, 2025 -

जीवित आमाछोरीको मृत्यु प्रमाणपत्र : ‘प्रयोग भए अदालत र नगरपालिका’

२२ पुस, नेपालगञ्ज । बाँके राझाकी नरमाया घर्ती र उनकी छोरी शषा गुरुङलाई बर्दियाको मधुवन नगरपालिकाको ७ नम्बर वडा कार्यालयको सिफारिसमा बर्दिया जिल्ला अदालतले ‘लामो समयदेखि बेपत्ता भएको’ भनेर मृत घोषणा गर्दै प्रमाण–पत्र जारी गरेको छ ।

मधुवन नगरपालिका–७ मा बस्ने नरमायाकी सौता च्यामशो भन्ने मीनमाया, वडा नं ७ का वडा अध्यक्ष राजेन्द्र हमाल, वडा सदस्य बालकुमारी केसी र वडा सचिव बिमल भण्डारीले सर्जमिन मुचुल्का गरी १५ चैत २०६२ देखि घरबाट बेपत्ता भएको भनेर नरमाया घर्ती र उनकी छोरी शषा गुरुङलाई मृत्युको न्यायिक घोषणा गर्न सिफारिस गरेका थिए ।

वडा कार्यालयको सिफारिसपछि जिल्ला अदालत बर्दियाका कर्मचारी सूर्यबहादुर शाही समेतको डोरले नरमाया घर्ती र उनकी छोरी शषा गुरुङ लामो समयदेखि बेपत्ता रहेको र सोधखोज गर्दा पनि नभेटिएको व्याहोरा तयार गरी मृत्युको न्यायिक घोषणा गर्न अदालतमा सिफारिस गरेको थियो ।

लामो समयसम्म बेपत्ता भएको व्यक्ति फर्कि आउने सम्भावना नदेखिएको अवस्थामा कानुनी रुपमा मृत्युको न्यायिक घोषणा हुनसक्ने कानुनी व्यवस्था मुलुकी देवानी संहितामा छ । त्यसको अर्थ उनीहरु अब जीवित छैनन् वा हुनसक्ने सम्भावना छैन भन्ने हो ।

वडा कार्यालयको सिफारिस र जिल्ला अदालतबाट खटिएको डोरको सिफारिस बमोजिम जिल्ला अदालत बर्दियाका न्यायाधीश टेकराज जोशीको इजलासले १८ पुस २०८० मा आदेश गर्दै नरमाया घर्ती र उनकी छोरी शषा गुरुङलाई मुलुकी देवानी संहिता २०७४ को दफा ४० को उपदफा ४ बमोजिम मृत्युको न्यायिक घोषणा गरेको थियो ।

मृत्युको यस्तो न्यायिक घोषणाको प्रमाणित पत्र अदालतका निमित्त श्रेस्तेदार श्रीधर सुवेदीले १८ पुस २०८० मा जारी गरेका थिए ।

तर मृत घोषित आमा छोरी घरमै

अदालतबाट जारी भएको मृत्युको न्यायिक घोषणा पत्र बोकेर २२ पुस २०८० विहान ९ बजे हामी नरमायाको निवास नेपालगञ्जको राझा पुगेका थियौ । चिसो बिहानीमा एकतले पक्की घरको भुइँतलाको बरण्डामा बसिरहेको अवस्थामा आमा छोरी भेटिए ।

हामीले उनीहरुको मृत्यु दर्ता प्रमाण पत्र देखाएर सोध्यौं– आफ्नो बारेमा यस्तो कागजात तयार भएको देख्दा कस्तो लाग्छ ?

‘हामीले थाहा पाइसकेका थियौ । सम्पत्ति हड्प्ने उद्देश्यले यो काम गरिएको हो । म वकिलसंग छलफल गर्दै छु’ मृत घोषित आमा नरमायाले भनिन् ।

मानिस जीवित र सम्पर्कमै रहेको अवस्थामा लामो समयदेखि बेपत्ता भएको भन्ने नक्कली सरजमिन गरेर मृत्युको प्रमाण पत्र बनाउनुको मुख्य कारण नेपाली सेनामा कार्यरत नरमायाका श्रीमान सुब्बा गुरुङको पेन्सन र पुख्र्यौली सम्पत्ति हडप्ने नियत देखिन्छ । नरमायाका भनाइमा पनि ‘कान्छी श्रीमतीको नाममा उनले पाउँदै आएको पेन्सन र पुर्ख्यौली सम्पत्तिबाट वञ्चित गर्ने षड्यन्त्रले यस्तो कागज तयार भएको हुनसक्छ ।’

नरमायाले नेपाली सेनामा कार्यरत श्रीमान सुब्बा गुरुङको मृत्युपछि कान्छी श्रीमातीको रुपमा मासिक ८ हजार पेन्सन पाउदै आएकी छिन । नरमायाको भनाइमा सौता र उनका छोराहरुले श्रीमानको घर बर्दिया मधुवन नगरपालिका–७ मा बस्न नदिए पछि छोरी लिएर उनी २०६४ सालदेखि नेपालगञ्जको राँझामा बस्दै आएकी छिन् ।

नेपालगञ्जमा बस्न थालेपछि पनि हरेक बर्ष ल्होसार पर्वमा श्रीमानको घर जाने गरेको नरमाया बताउँछिन् । श्रीमानका आफन्त नातेदारहरुसंग नियमित भेटघाट र सम्पर्कमा रहे पनि सौताले स्थानीय वडा अध्यक्षसंगको मिलेमतोमा आफूलाई पेन्सन र सम्पत्तिबाट बञ्चित गर्न अदालतलाई समेत गुमराहमा राखेर यस्तो काम गरेको नरमायाको भनाइ छ ।

नरमायालाई मृत घोषणा गर्ने वडा अध्यक्ष हमालको आफनै तर्क छ । उनी भन्छन, ‘उहाँले आधा पेन्सन बुझ्नु हुन्छ भन्ने थाहा थियो । तर उहाँ हाम्रो सम्पर्कमा हुनुहुन्नथ्यो । म उहाँलाई चिन्दिन । त्यसैले मैले सरजमिनका आधारमा १५ चैत २०६२ देखि सम्पर्कमा नभएको भनेर मृत्युको न्यायिक घोषणाका लागि सिफारिस गरिदिएको हुँ ।’

आफ्नो घरको बरण्डामा अनलाइनखबरसंग कुरा गर्दा नरमायाले आफूसंग २०८० असोजसम्म पेन्सन बुझेको प्रमाण रहेको बताइन् । यस्तै साबिकको ताराताल गाबिसले १७ मंसिर २०७१ मा सुब्बा गुरुङकी छोरी शषा सुरुङलाई छात्तवृत्ति उपलब्ध गराउन नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयलाई सिफारिस गरेको पत्र पनि देखाइन् ।

नरमायाले भनिन् ‘सम्पत्तिबाट बञ्चित गर्न र मेरो पेन्सन सुविधा खोस्न यो षड्यन्त्र भएको हो । जबकी यो बीचमा मैले पटक पटक वडा अध्यक्षलाई पनि भेटेकी छु ।’

स्वर्गीय सुब्बा गुरुङको बर्दिया मधुवन नगरपालिका वडा नं ७ मा १ कठठामा बनेको घर, नजिकै करिब १ बिघा जग्गा र पहाड घर लमजुङमा पनि पुर्ख्यौली सम्पत्ति रहेको नरमायाको भनाइ छ ।

रुकुमपूर्व माइती भएकी नरमायाको श्रीमान रुकुममा कार्यरत रहेका बेला २०५८ सालमा प्रेम विवाह भएको थियो । नेपाली सेनामा कार्यरत रहेकै बेला सुब्बाको २०६२ सालमा हृदयघातबाट मृत्यु भएको थियो । सुब्बा गुरुङ र नरमायाबाट ८ वैशाख २०६० मा छोरी जन्मिएकी थिइन । नरमाया र छोरी शषा सँगै बस्दै आएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np