दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन्।
सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले २०५८ जेठ १९ गते राति नारायणहिटीमा भएको तत्कालीन राजा वीरेन्द्रको वंश नाशको छानबिन हुने बताएका हुन्।
प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारेको प्रचण्डको सचिवालयले जनाएको छ।
‘पूर्वराजा (ज्ञानेन्द्र शाह) ले जे बोलेका छन्, बोल्नै नहुने कुरा बोलेका छन्। दरबार हत्याकाण्डबारे फेरि एकचोटी छानबिनतिर सरकार अगाडि बढ्दैछ,’ उनले भनेका छन्।
पूर्वराजा शाहले शनिबार वीरगञ्जमा भएको कार्यक्रममा ०५८ सालमा भएको दरबार हत्याकाण्डबारे बोलेका थिए।
‘२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीका मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो,’ पूर्वराजा शाहले भनेका थिए
आफूहरूलाई त्यसबेला घातक प्रहार भएको पूर्वराजा शाहले बताए।
‘सत्य सधैं सत्य हुन्छ। असत्यको विजय कहिल्यै हुँदैन,’ उनले भने, ‘हाम्रामाझ प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।’
पुख्यौली दरबारबाट बाहिरिँदा आफूले नेपालमै बस्ने र मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउने बताएको उनले स्मरण गरेका थिए। पूर्वराजा शाहले गरेको यस्तो अभिव्यक्तिलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार ज्ञानेन्द्र कुशका मात्र राजा रहेको प्रतिक्रिया दिएका थिए।
‘ज्ञानेन्द्र शाह भनेको राजा होइन। बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्,’ आइतबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले भनेका थिए, ‘अब यस्ता कुरामा के बहस गरिरहने बेकार।’
दरबार हत्याकाण्डबारे त्यसैबेला छानबिन गरिएको उनले बताएका थिए।
‘त्यसबेला पनि छानबिन गरिएको हो। तर राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति यस्तो रह्यो- त्यसबेलाका हाम्रा महासचिव माधवकुमार नेपाल उहाँ आफैं छानबिन समितिमा बस्नुभएको थियो, यो ड्रामामा सामेल नहोऊ भनेर हामीले फिर्ता गर्यौं,’ ओलीले भनेका थिए।