काभा भलिबलमा श्रीलंकाको एयरफोर्सलाई हराउँदै पुलिसको दोस्रो जित
काठमाडौं । नेपाली विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) महिला क्लब भलिबल च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ ।
सोमबार माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले श्रीलंकाली क्लब एयर फोर्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै दोस्रो जित निकालेको हो ।
पुलिसले एयर फोर्सलाई २५–१६, २५–२० र २५–२१ ले हराएको हो ।
पहिलो र दोस्रो सेटमा नेपाल पुलिस क्लबले अग्रता बनाउँदै जित निकालेको थियो भने तेस्रो सेटमा एयर फोर्सले २१ अंक सम्म अग्रता बनाइरहेको थियो । पछ्याउँदै गरेको पुलिसले लगातार अंक बटुल्दै दोस्रो जित दर्ता गरेको हो ।
पुलिसले पहिलो खेलमा आइतबार उज्वेकिस्तानको ह्युमो क्लबलाई पनि ३–० ले नै हराएको थियो ।
पुलिसले अब तेस्रो खेल ताजकिस्तानको भीसी डियामेदसँग खेल्ने छ भने लिगको चौथो खेल माल्दिभ्स पुलिससँग खेल्नेछ ।
गत चैतमा सम्पन्न भएको एनभीए महिला भलिबल लिगमा एभ्रेष्ट क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो । सोही अनुसार लिग विजेताको हैसियतमा पुलिसले काभा महिला क्लब च्याम्पियनसिप खेलेको हो ।
यस प्रतियोगिताका लागि नेपाल पुलिस क्लबले आफ्नो विभाग बाहिरका तीन खेलाडी अनुबन्ध गरेको थियो । जसमा एपिएफका निरुता ठगुन्ना र सरस्वती चौधरी छन् भने न्युडाइमन्डकी उदयीमान खेलाडी सुमित्रा रेग्मी पनि रहेकी छन् ।