प्रजातान्त्रिक देशको अप्रजातान्त्रिक अभ्यास !
सन्दर्भ हो विश्वकै शक्तिशाली र सम्पन्न राष्ट्र संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचनको। अर्को हप्ताको मङ्गलबार ४७औं अमेरिकी राष्ट्रपतिका लागि ६३औं पटकको निर्वाचन हुँदैछ। यो निर्वाचन प्रतिस्पर्धी उम्मेदवारहरूका बीचको व्यक्तिगत विशेषता र यसको परिणामका कारण पनि विशेष हुँदैछ। डेमोक्रेटिक पार्टीको उम्मेदवार कमला ह्यारिस अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुने दोस्रो महिला हुन्| उनी आप्रवासी पृष्ठभूमिको प्रतिनिधि पनि हुन्।
रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्प सन् २०१६ मा निर्वाचित अमेरिकाको ४५औं राष्ट्रपति हुन्। दोस्रो कार्यकालको निर्वाचनमा पराजित भएर पनि हार नस्वीकारेका उनी अदालतबाट फौजदारी अभियोगमा दोषी ठहर भएका ‘३४ फेलोन’ हुन्। अदालतमा पनि उनी विरूद्ध दर्जनौं विचाराधीन मुद्दा छन्।
सन् १७८९ मा अमेरिकाको पहिलो राष्ट्रपति भएका जर्ज वासिङ्न समेत अन्य १३ जना दुई कार्यकालका लागि राष्ट्रपति भएका थिए। त्यसबाहेक सन् १९३३ मा राष्ट्रपति भएका फ्रेन्कलिन डी रुजबेल्टको भने तेस्रो पूर्ण कार्यकालपछिको चौथो कार्यकालमा करिब तीन महिनापछि निधन भएको थियो। अमेरिकामा राष्ट्रपतिको कार्यकालमै हुँदा निधन भएका रुजबेल्ट बाहेक अब्राहम लिङ्कन र विलियम म्याकेन्लीलाई पनि बहाल राष्ट्रपति रहेकै समयमा गोली हानी हत्या गरिएको थियो।
सन् १९५१ को अमेरिकी संविधानको २२औं संशोधनपछि भने राष्ट्रपतिको कार्यकाल दुई पटकमा सीमित गरिएको छ। यो संशोधनको उद्देश्य एउटै व्यक्तिको हातमा लामो समयसम्म शक्ति केन्द्रित हुन नदिन र प्रजातान्त्रिक विधि मार्फत नयाँ नेतृत्वलाई अवसर दिनु थियो।
आसन्न निर्वाचनको मुख्य दिन नोभेम्बर ५ आउन हप्ता दिन पहिले नै अमेरिकी राष्ट्रपतिको लागि निर्णायक मतदान भइसकेको छ। दुई करोडभन्दा बढी अमेरिकी मतदाताहरूले चुनाव पहिलेको मतदान (अर्ली भोटिङ) र हुलाकबाट (मेल इन ब्यालेट) मार्फत नै मतदान गरिसकेका छन्। अमेरिकी नागरिकको जनसङ्ख्या ३३ करोडभन्दा माथि रहेको छ भने त्यसको ६६ प्रतिशत अर्थात् करिब २२ करोड मतदाता रहेका छन्।
सन् २०२० को निर्वाचनमा करिब ५८ प्रतिशत मतदान भएको थियो। गत निर्वाचनमा महिला मतदाता ६८ र पुरुष मतदाता ६५ प्रतिशतले मतदान गरेका थिए। यसपटकको निर्वाचनमा पनि यही अनुपातमा मतदान हुने हो भने डेमोक्र्याट पार्टी र यस पार्टीको उम्मेदवार कमला ह्यारिसका लागि सहज हुने अनुमान गर्न सकिन्छ।
यो अनुमानमा पुरुषको तुलनामा २ प्रतिशत बढ्ता सहभागी हुनसक्ने महिला मतदाताहरूको बहुमत डेमोक्रेटिक पार्टीको उम्मेदवार ह्यारिसको पक्षमा हुनसक्छ भन्ने हो।
ह्यरिसको चुनावी मुद्दामा मतदानमा सहभागी भएका र हुने बहुमत मतदाता अर्थात् मध्यम वर्गका अमेरिकी मतदाताहरूको पक्षधरता र महिलाको अधिकार तथा स्वास्थ्यसँग जोडिएको गर्भपतनका लागि महिलाको स्वनिर्णय विशेष छन्।
अमेरिकामा नेपालीहरूको जनसङ्ख्या कति छ भनेर औपचारिक रूपमा यकिन छैन। अनौपचारिक रूपमा ३ लाखदेखि ५ लाखसम्म पुग्ने अनुमान गरिन्छ। सन् २०२० को जनगणना अनुसार नेपाली भाषीहरूको संख्या २ लाख १९ हजार ५०३ रहेको छ। यो सङ्ख्या करिब १ लाख नेपालीभाषी भुटानीहरू समेतको हो।
थोरै सङ्ख्यामा र छरिएर रहेका नेपाली भाषीहरूले अमेरिकी चुनावमा प्रभाव पार्न सक्ने सम्भावना त हुँदैन। तर पेन्सलभेनिया र विन्कन्सन जस्ता केही राज्यहरूमा नेपाली मूलका र नेपाली भाषी भुटानीहरूले चुनावी नतिजालाई प्रभावित पार्न सक्ने सम्भावना नकार्न नसकिने अवस्था छ।
सन् २०१६ को निर्वाचनमा रिपब्लिकनका ट्रम्पले ४४ हजार २९२ मतले जितेको पेन्सलभेनियामा सन् २०२० मा डेमोक्रेटिकका जो वाइडेनले ८० हजार ५५५ मतले जितेका थिए। यसपटक यो मतान्तर २५ हजारको हाराहारीमा आउने अनुमान छ। यो राज्यमा करिब ३५ हजार नेपाली भाषी मतदाता छन्। यो संख्याले यस पटकको चुनावमा पेन्सलभेनियाको १९ ‘इलेक्ट्रोल भोट’ले निर्णय गर्ने र त्यही नै यो चुनावका लागि निर्णायक हुने राजनीतिक विश्लेषकहरूले पनि प्रक्षेपण गरिरहेका छन्।
विश्वको शक्तिशाली राष्ट्रको राष्ट्रपति निर्वाचित गर्ने विधि के हो त ‘इलेक्ट्रोल’ भोट ? को हुन् यस विधिका मतदाता अर्थात् ‘इलेक्ट्रोल कलेज ?’ अमेरिकी राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा एक वर्ष पहिले नै राजनीतिक पार्टीहरूमा अन्तर पार्टी प्रतिस्पर्धा शुरु हुन्छ। यस प्रतिस्पर्धालाई ‘प्राइमेरी इलेक्सन’ भनिन्छ। ‘प्राइमरी इलेक्सन’ को यो विधिले राजनीतिक पार्टीले राष्ट्रपतिको उम्मेदवारको टुङ्गो लगाउँछ।
सम्बन्धित पार्टीका साधारण सदस्य अर्थात् पार्टीको पहिचान खुलाएका मतदाता ‘रजिस्टर भोटर’ का अतिरिक्त पार्टीको पहिचान नखुलाएका मतदाताहरूले समेत गोप्य मतदानको प्रक्रिया मार्फत छनोट गरिने यी उम्मेदवारलाई प्रजातान्त्रिक विधिबाट निर्वाचित प्रतिनिधि मान्न सकिन्छ। तर अर्कातिर अन्तर पार्टी निर्वाचनमा प्रजातान्त्रिक विधि अपनाएर उम्मेदवार बनेका यिनै प्रतिनिधिहरू चयनका लागि भएको राष्ट्रपतिको ‘प्रत्यक्ष झैं देखिने’ निर्वाचनमा भने देशको बहुमत मतदाताको कुनै अर्थ रहँदैन।
राजनीतिक पार्टीहरूले ‘प्राइमरी इलेक्सन’का अतिरिक्त ती पार्टीहरूको राज्यस्तरमा भएका सम्मेलन मार्फत आ-आफ्ना पार्टीका ‘इलेक्ट्रर’ भनिने निर्वाचन प्रतिनिधिहरूको नामावली निर्वाचन आयोगलाई बुझाएका हुन्छन्। ती प्रतिनिधिहरू सम्बन्धित राज्यको जनसङ्ख्याको अनुपातको आधारमा तोकिएका ५३५ ‘इलेक्ट्रोल कलेज’ अर्थात् राष्ट्रपति निर्वाचनका निर्णायक मतदाताहरू हुन्। तिनै मतदाताहरूले झिनो मतान्तरको आधारमा प्राप्त गरेको बहुमतका आधारमा त्यस राज्यका ‘इलेक्ट्रोल कलेज’ले आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन रहेको प्रमाणीकरण गरिदिन्छन्।
उदाहरणका लागि यो प्रतिनिधित्वमा सबैभन्दा धेरै जनसङ्ख्या भएको क्यालिफोर्निया राज्यमा ५२ ‘इलेक्ट्रोल कलेज’ रहेकोमा जुन पार्टीले लोकप्रिय मत अर्थात् प्रत्यक्ष निर्वाचनमा १ मत बढ्ता ल्याएर बहुमत सिद्ध गर्छ, सबै ‘इलेक्ट्रोल कलेज’ सोही पार्टीको निर्वाचित हुन्छन्।
प्रत्यक्ष मतदानको परिणामको आधारमा ५२ जना प्रतिनिधि निर्वाचित हुनका लागि यस राज्यमा १ मत बढ्ता पाउने पहिलो पार्टीका लागि २७ र दोस्रो हुने वा १ मत कम ल्याउने पार्टीका लागि २५ प्रतिनिधि हुनुपर्ने हो तर त्यसो हुँदैन। मानौं यस निर्वाचनमा देखिएका राष्ट्रपतिका २ जना उम्मेदवार हात्तीका देखाउने दाँत मात्र हुन्। भित्री दाँतका रुपमा राजनीतिक पार्टीहरूले पहिले नै पठाएका तिनका प्रतिनिधि ‘इलेक्ट्रोल कलेज’ निर्वाचित हुन्छन्।
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा यिनै ५३८ कलेज ‘इलेक्ट्रल’ मत निर्णायक हुने भएकाले राष्ट्रपति प्रत्यक्ष रूपमा अमेरिकी जनताको बहुमतबाट निर्वाचित हुँदैनन्। यदि त्यस्तो हुने हो भने अमेरिकामा सधैंभरि डेमोक्रेटिक पार्टीको राष्ट्रपति निर्वाचित हुने सम्भावना हुन्छ किनकि प्रत्यक्ष निर्वाचनहरूको बहुमत डेमोक्रेटिक पार्टीको पक्षमा देखिन्छ। सन् २०१६ मा डोनाल्ड ट्रम्प ३०४ इलेक्ट्रल मत ल्याएर विजयी हुँदा पनि हिलारी क्लिन्टनले २८ लाख ६८ हजार ६८६ बढी लोकप्रिय मत पाएकी थिइन्।
अमेरिकाको यस निर्वाचन प्रणालीका आधारमा हेर्दा विगतदेखि आगामी निर्वाचनका लागि समेत केही सीमित राज्यहरूको निर्वाचनको झिनो मतान्तर नै राष्ट्रपतिमा विजयी हुनका लागि निर्णायक हुने देखिन्छ। ती राज्यहरूमा एरिजोना ११, विन्कन्सन १०, मिचिगन १५, नर्थ क्यारोलिना १८, जर्जिया १६, पेन्सलभेनिया १९ र नेभाडा ६ हुने भनेर व्यवस्था गरिएका ‘इलेक्ट्रोल कलेज’ मत वा मतदाता रहेका राज्यहरू हुन्। यी राज्यहरूमा पनि सबैभन्दा बढ्ता ‘इलोक्ट्रोल कलेज’ रहेको पेन्सलभेनिया निर्णायक हुनसक्छ।
विगतका निर्वाचनहरूको परिणामहरूमा पनि यही पेन्सलभेनिया राज्यको निर्णायक भूमिकाले सन् २०१६ मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प निर्वाचित भएका थिए। सन् २०२० को निर्वाचनमा जो वाइडेन पनि यही राज्यको बहुमत ‘इलेक्ट्रोल कलेज’ले राष्ट्रपतिमा निर्वाचन भएका हुन्। अमेरिकाको निर्वाचनमा दोस्रो पटक पराजित भएर पनि तेस्रो पटकको निर्वाचनमा भाग लिएका दोस्रो उम्मेदवार हुन् ट्रम्प। यसभन्दा पहिले सन् १८६९ मा पहिलो पटक निर्वाचित भएर दुई कार्यकाल राष्ट्रपति भएका उल्सेस एस ग्रान्ट भने तेस्रो पटकमा पराजित भएका थिए।
अमेरिकी राष्ट्रपतीय निर्वाचन वा अमेरिकी निर्वाचनको विशेषता अर्को पनि छ। यहाँ ४-४ वर्षमा हुने राष्ट्रपतीय निर्वाचनमा होस् वा २-२ वर्षमा हुने अन्य आवधिक निर्वाचनहरू हुन् तिनमा एउटै मतपत्रमा स्थानीय तहका विभिन्न निकायका पदाधिकारीहरूका लागि पनि मतदान हुने गर्छ। यसपटकको निर्वाचनमा पनि राष्ट्रपतिका साथै सिनेटर, कंग्रेसमेनका अतिरिक्त स्थानीय तहका प्रतिनिधिहरूको पनि एउटै मतपत्र मार्फत मतदान हुँदैछ।
अमेरिकी राष्ट्रपति निर्वाचन अमेरिकाको आन्तरिक निर्वाचन हो। यसको प्रभाव र परिणाम पनि मूलतः अमेरिकाको आन्तरिक मामला हो। तर यसको प्रभाव र चासोबाट विश्व समुदाय अलग छैन। यस निर्वाचनले अमेरिकी जनताका जनजीविकासँग प्रत्यक्ष सम्बन्धित आर्थिक नीतिहरू (रोजगारी, आवास, कर, स्वास्थ्य र आप्रवासन आदि) मा प्रभाव पार्न सक्छ। त्यसबाहेक अमेरिकाको विदेश नीतिले पार्न सक्ने शक्तिशाली राष्ट्रहरूको ध्रुवीकरण पनि हो।
अहिले भइरहेको रूस र युक्रेन तथा इजरायल हमासका बीचको युद्धमा अमेरिकी पक्षधरता र यसले विश्वमा पार्ने प्रभाव पनि अमेरिकी राष्ट्रपति निर्वाचनका परिणामको बाछिटाहरू हुनेछन्। हप्ता दिनपछि सम्पन्न हुन अमेरिकी राष्ट्रपति निर्वाचनको परिणामको बाछिटाले अमेरिकाको घरेलु राजनीतिमा र विश्व समुदायलाई कसरी प्रभावित पार्ने हो देखापर्न थाल्नेछ।