Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

बीआरआई परियोजना कार्यान्वयन हुनेछ : प्रधानमन्त्री ओली

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले साझा समृद्धिका लागि बीआरआई परियोजना महत्वपूर्ण रहेको बताएका छन् । बीआरआई परियोजना नेपालमा कार्यान्वयन पनि हुने उनले स्पष्ट पारेका छन् ।

चीन भ्रमण पूरा गरी स्वदेश फर्किनुभन्दा अघिल्लो दिन चाइना मिडिया ग्रुप (सीएमजी)लाई दिएको अन्तर्वार्तामा ओलीले बीआरआईको उद्देश्य साझा समृद्धिसहित अरू देशहरूको साझा विकास बढाउनु हो भन्दै यो नेपालका लागि पनि निकै महत्वपूर्ण रहेको बताएका हुन् ।

‘चीनबाट प्रस्तुत यो (बीआरआई) प्रस्ताव निकै राम्रो, निकै महत्वपूर्ण छ । धेरै देशहरू उक्त प्रस्तावको स्वागत गरेका छन् । नेपाल पनि बीआरआईको साझा निर्माणको पक्षधर हो,’ उनले भनेका छन् ।

चाइना मिडिया ग्रुपको नेपाली संस्करणमा शनिबार सार्वजनिक भिडियो अन्तर्वार्तामा ओलीले नेपाल र चीनले बीआरआईको साझा उद्देश्य हासिल गर्ने सहकार्य प्रारूपमा ९–१० वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् ।

‘डिसेम्बर ३ तारिख राष्ट्राध्यक्ष सी चिनफिङसँग वार्ता गरेर हामीले द्विपक्षीय सम्बन्धबारे वैचारिक आदानप्रदान गरेका थियौं । वार्ता रमाइलो र फलदायी थियो,’ उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको थियो ।

यो सम्झौता धेरै महत्वपूर्ण रहेको बताउँदै ओलीले भनेका छन्, ‘यो एक छाता जस्तै छ, त्यस अन्तर्गत अरु विभिन्न परियोजनाहरु छन्, ती कार्यान्वयनमा जानेछन् । यो छाता सम्झौताले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत सबै क्षेत्र समेट्ने छ ।’

उनले प्रधानमन्त्रीको हैसियतमा आफूले तेस्रो पटक चीन भ्रमण गरेको यो भ्रमण निकै सफल र फलदायी भएको पनि बताएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np