Global Force Media

२०८३ बैशाख १ - Tue Apr, 2026 -

भारतीय संसद् भवन परिसरमा सांसदबीच झडप

काठमाडौँ – भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी र गठबन्धनबीच झडप हुँदा भारतीय जनता पार्टी (भाजपा) का सांसद प्रतापचन्द्र सारङ्गी र मुकेश राजपुतलाई चोट लागेको भाजपाले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांसदसारङ्गी र राजपुतलाई फोन गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता राहुल गान्धीले भाजपा सांसदहरूले आफूलाई संसद्मा प्रवेश गर्नबाट रोकेको र धकेलेको आरोप लगाएका छन् ।

काङ्ग्रेसले सत्तारूढ पार्टीका सांसदले धकेल्दा आफ्ना अध्यक्ष मल्लिकार्जुन खड्गेलाई खुट्टामा चोट लागेको बताएको छ ।

भाजपा नेता तथा संघीय सरकारका गृहमन्त्री अमित शाहले बाबासाहेब अम्बेडकरविरुद्ध गरेको अपमानजनक टिप्पणी गरेको बिषयमा सत्तारूढ दल र विपक्षी दलका नेताबीच विवाद चर्किँदा संसद् परिसरमा समेत झडप भएको हो ।

भारतीय जनता पार्टी (भाजपा) का सांसद सारङ्गीले कांग्रेस नेता राहुल गान्धीको धक्काले आफू घाइते भएको दावी गरेका छन् । सारङ्गीले आफू सिँढीमा उभिरहेको बेला विपक्षी नेताहरूको धकेलाधकेलमा सांसदहरू आफूमाथि लडेको र यसबाट आफ्नो टाउकोमा चोट लागेको बताएका छन् ।

सिंहले पत्रकारसँग भने, “गान्धीले संसद्मा प्रवेश गर्ने क्रममा एक जना सांसदलाई धक्का दिनुभयो उहाँ ममाथि परेपछि म ढलेँ ।”

घटनापश्चात भाजपा सांसदलाई एम्बुलेन्समा राखेर उपचारका लागि लगिएको थियो । दुवै सांसदलाई दिल्लीको राममनोहर लोहिया अस्पतालमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अजय शुक्लाले बताउनुभयो । उनले भने, “उहाँहरूको स्वास्थ्य परीक्षण भइरहेको छ । लक्षणसहितको उपचार सुरु भएको छ । दुवैजनाको टाउकोमा चोट लागेकाले आईसीयूमा भर्ना गरिएको छ ।”

उनले भने, “अस्पतालमा ल्याईपुर्याँउँदा सांसद् सारङ्गीलाई गहिरो चोट लागेको र अत्यधिक रक्तस्राव भइरहेको थियो, अहिले उहाँको उपचार सुरू गरिएको छ । परीक्षणहरू पनि भइरहेका छन् ।”

शुक्लाले अगाडी भने, “राजपुत बेहोस भएपछि ल्याइएको र अहिले उहाँ होशमा हुनुहुन्छ तर चिन्तित देखिनुहुन्छ ।”

काङ्ग्रेस नेता राहुल गान्धीले घटनामा आफ्नो बचाउ गर्दै भने, “म संसदभित्र पस्ने कोसिस गरिरहेको थिएँ, मलाई भाजपा सांसदहरूले धकेले र अवरोध गर्दै धम्की दिए ।”

गान्धीले भने, “उनीहरूले काङ्ग्रेस प्रमुख मल्लिकार्जुन खड़्गेलाई पनि धकेले । यो तपाईंको क्यामेरामा हुन सक्छ।”

उनले थपे, “हामीलाई झट्काले असर गर्दैन । यो प्रवेशद्वार हो र हामीलाई भित्र जाने अधिकार छ ।”

कांग्रेस सांसद केसी वेणुगोपालले भारतीय जनता पार्टी (भाजपा) का सांसदहरूले कांग्रेस नेताहरूलाई संसद्मा प्रवेश गर्नबाट रोकेको आरोप लगाएका छन् ।

उनले भने, “लज्जाजनक घटना भएको छ । भाजपाका सांसदहरूले कांग्रेसका अध्यक्ष तथा आदरणीय नेतालाई धक्का दिए भने लोकसभाका विपक्षी नेतालाई पनि सदनमा प्रवेश गर्नबाट रोकियो र धकेलियो। भाजपाका यी सांसदहरू वातावरण बिगार्न र संसदको गरिमा घटाउनका लागि स्पष्ट रूपमा जिम्मेवार थिए।”

भाजपा नेता तथा संघीय सरकारका गृहमन्त्री अमित शाहले बाबासाहेब अम्बेडकरविरुद्ध गरेको अपमानजनक टिप्पणीको जवाफदेहिताबाट उनीहरूलाई कुनै पनि नाटक वा छलकपटले बचाउन सक्दैन।

भारतीय जनता पार्टी (भाजपा) ले गान्धी र अन्य सांसदहरूविरुद्ध भाजपा सांसदहरूविरुद्ध शारीरिक हिंसाको आरोप लगाउँदै उजुरी दर्ता गर्ने बताएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np