Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

कांग्रेसका महामन्त्री विश्वप्रकाशको प्रस्ताव : गम्भीर विषयमा छलफल नहुने भए संयन्त्र खारेज गरौं

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारको विकल्प खोज्ने नभएर सफल बनाउनुपर्ने बताएका छन् ।

बिहीबार बिहान पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा महामन्त्री शर्माले सरकारको विकल्प खोज्ने पक्षमा आफू नरहेको बताएका हुन् । तर विकल्प नखोज्ने भन्दैमा सरकारका गलत कामहरुको समर्थन गर्न नसकिने अडान पनि लिएका थिए ।

बैठक स्रोतका अनुसार वर्तमान सरकारबारे महामन्त्री शर्माले तीन निष्कर्ष सुनाएका थिए । ‘जे भइरहेको छ, ठीक भइरहेको छ भनेर जान सकिने विकल्प हामीसँग छ । तर उसो भनिरहँदा हामी जनतासँग टाढिन तयार हुनुपर्छ’ शर्माले प्रश्न गरे, ‘सक्छौं ? जनतासँग टाढिन तयार हो भने सरकारको गल्तीहरुमा चूप लागेर बसौं ।’

तर जनतासँग नटाढिने हो भने दोस्रो विकल्पमा जानुपर्ने महामन्त्री शर्माको प्रस्ताव थियो । ‘अहिलेको गतिले पुग्दैन, र बढाउनुपर्छ भने सच्चिएर जाने विकल्पमा जानुपर्छ । सरकारको गति बढाउनुपर्छ’, शर्माले भनेका थिए ।

सरकारका गति बढाउँदा गर्नुपर्ने कामहरुको सूची नै उनले प्रस्तुत गरेका थिए । ‘सरकारले गर्नुपर्ने कामहरु अविलम्ब थाल्नु पर्यो । एआइजी नियुक्ति रोक्नु भएन । शिक्षकहरुको माग सम्बोधन गरिनुपर्छ’ शर्माले भने, ‘मन्त्रिपरिषदले गर्ने काम मन्त्रिपरिषद्बाट र संसदले गर्ने काम संसदबाट गरिनुपर्यो ।’

जनताको चाहना बिपरीतका कामहरु नगर्ने प्रतिबद्धता पनि सरकारले गर्नुपर्ने उनको प्रस्ताव थियो । ‘कुलमान घिसिङलाई हटाउने जस्ता निर्णय आगामी दिनहरुमा गरिनु भएन । राष्ट्र बैंकका गभर्नर रिक्त राखेर हुँदैन । चाँडो नियुक्त गरिनुपर्यो’, उनले भनेका थिए ।

सरकारले गर्नुपर्ने गम्भीर विषयमा खुलेर छलफल नगर्ने हो भने कांग्रेस र एमालेका शीर्ष नेताहरु रहेको उच्च स्तरीय राजनीतिक संयन्त्र खारेज गर्न पनि महामन्त्री शर्माले प्रस्ताव गरेका थिए । ‘अध्यादेशहरु ल्याउँदा धेरै छलफल गरियो । तर सामाजिक सञ्जाल विधेयक ल्याउँदा सुइको समेत दिइएन, कुलमान हटाउनेबारे छलफल भएन’ उनको भनाइ थियो, ‘गम्भीर विषयहरुमा खुलेर छलफल नहुने हो भने उच्च स्तरीय संयन्त्र खारेज गर्यौं ।’ तर सरकार सफल बनाउन गम्भीर विषयहरुमा संयन्त्रमा खुलेर छलफल गरिनुपर्ने उनको तर्क थियो ।

शर्माले नेकपा एमालेसँगको सत्ता सहयात्राबारे विकल्पको प्रस्ताव पनि प्रस्तुत गरेका थिए । शर्माले काम गर्न सजिलो हुन्छ भने जसले सरकारको नेतृत्व गर्छन्, त्यही पार्टीका मात्रै मन्त्रीहरु बनाउन सकिने बताएका थिए ।

 

‘अहिले केपी ओली प्रधानमन्त्री हुनुहुन्छ, एमालेको टीम बनोस् । हामीले सहयोग गरौं । भोलि कांग्रेसले नेतृत्व गर्दा एमालेले सहयोग गरोस्’ शर्माले भनेका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np