राजनीतिक दलका नेताहरुले दोहोरो व्यवहार देखाउछन: स्वास्थ्यमन्त्री प्रदीप पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपत्यका बाहिरका सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक पुर्याउन समस्या रहेको गुनासो गरेका छन् ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले राजनीतिक दलका नेताहरुले दोहोरो व्यवहार देखाएको भन्दै आलोचना गरे । उनले भने, ‘नेताहरू भाषण ठूला ठूला गर्छन्, तर आफ्ना मान्छेलाई बाहिर पठाउँदा मिलाउन भने दबाब दिन्छन् ।’
स्थायी दरबन्दीअनुसार चिकित्सक खटाउने प्रक्रियामा राजनीतिक हस्तक्षेप र व्यक्तिगत दबाबको कारण समस्या देखिएको उनको दाबी छ ।
‘गजेन्द्र नारायण सिंह अस्पतालमा स्थायी दरबन्दीमा एक जना मेसु मात्रै हुनुहुन्छ । त्यहाँ सरुवा गर्दा रमाना नै बुझ्न मान्नुहुन्न,’ मन्त्री पौडेलले भने, ‘नेपाल भरका नेताले त्यो मान्छेलाई किन त्यहाँ पठाएको भन्दै यहीँ राखिदिन दबाब दिन्छन् ।’
उनका अनुसार डडेल्धुरा अस्पतालमा पनि यस्तै समस्या देखिएको छ । ‘स्वास्थ्यकर्मीको जहाँ दरबन्दी छ, त्यहाँ जानु भएको छैन । हामीले धेरै अनुरोध गर्यौं,तपाईं नगएसम्म त्यहाँको स्वास्थ्य सेवा चल्दैन जानुहोस् भनेर । तर उहाँहरू जान मान्नुहुन्न’, मन्त्री पौडेलले थपे ।
सरकारी सेवा खाएका चिकित्सकले तोकिएको ठाउँमा खटिनु पर्ने बताउँदै उनले जिम्मेवारीबाट पन्छिन नहुनेमा जोड दिए ।सरकारी जागिर खाएपछि खटाएको ठाउँमा जानुपर्छ भन्ने आग्रह मन्त्रालयले पटक(पटक गरेको मन्त्री पौडेलले बताए ।
गत २८ जेठमा मन्त्रालयले दरबन्दी भएको स्थानमा हाजिर हुनका लागि कर्मचारीलाई निर्देशन दिएको थियो । तर राजनैतिक दबाबको भरमा काज बसेर काम गरिरहेका कर्मचारी आफ्नो दबरन्दीको भएको स्थानमा जान अस्वीकार गरिहेका छन् ।
मन्त्रालयले तीन दिनभित्र खटाइएको ठाउँमा हाजिर हुन निर्देशन दिएको महिनौं दिन बितिसक्दा पनि हजारौं कर्मचारी काजमा नै बसिरहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार संघ अन्तर्गतका १३ अस्पताल र विभागमा काजमा बसेका कर्मचारी तीन सयभन्दा बढी छन् । देशभर काजमा रहने संख्या हजारको हाराहारीमा भएको अनुमान छ ।



