Global Force Media

२०८१ बैशाख १८ - Tue Apr, 2024 -

माओवादी पदाधिकारीमा एकजना मात्रै महिला, प्रचण्ड भन्छन् : सिनियारिटीका आधारमा पदाधिकारी बनाइन्छ

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले आठौं महाधिवेशनको ८ महिनापछि चयन गरिएका २१ पदाधिकारीमा एकजना मात्रै महिला हुनुको मुख्य कारण ‘सिनियारिटी’ भएको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले पदाधिकारी बनाउन नेताहरूको ‘सिनियारिटी’ नपुगेको टिप्पणी गरे । उनले सिनियारिटीका आधारमा मात्रै पदाधिकारी बनाइने बताए । ‘पदाधिकारी भनेको सिनियारिटीको आधारमा आउने चिज हो नि, उनले भने, ‘समानुपातिक गर्नुपर्ने त केन्द्रीय समितिमा हो, स्थायी समितिमा हो, नीति निर्माण गर्ने ठाउँमा हो ।’

उनले पदाधिकारीले दैनिक काम गर्ने पद मात्रै भएको दाबी गरे । पार्टीको नीति निर्माण गर्ने मुख्य थलो स्थायी कमिटी भएकाले त्यहाँ ११ जना महिलालाई पदोन्नति गरेर लगिएको बताए । माओवादी केन्द्रको पदाधिकारीमा वर्तमान उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषाल मात्रै रहेकी छन् । उनी पार्टीको उपमहासचिव बनाइएकी हुन् ।

पार्टीभित्र एक्लो पदाधिकारी ‘अध्यक्ष’ बनेका प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएका कारण भदौ ४ गतेको स्थायी कमिटीको बैठकबाट २१ सदस्यीय पदाधिकारी घोषणा गरेका हुन् । ‘तपाईंहरू खाली माओवादीलाई मात्रै हेर्नु हुन्छ,’ उनले सञ्चारकर्मीहरूसँग भने, ‘नीति निर्माण गर्ने स्थायी समितिमा ११ जना महिला एकैचोटी पदोन्नति गरेको नेपालको इतिहासमा कुनै पार्टीको रेकर्ड छ ?

माओवादी केन्द्रले प्रदेश १ मा समेत महिला र दलितलाई किन मन्त्री नबनाएको भन्ने प्रश्नमा प्रचण्डले भने, ‘कर्णालीमा गएर हेर्नुहोला ।’

उनले नागरिकता विधेयकसँग जोडिएका पछिल्लो घटनाक्रमले राजनीति केही तरंगित भएको बताए । यद्यपि त्यसले कुनै संकट नल्याउने र समाधान भएरै छाड्ने प्रचण्डले दाबी गरे । ‘घटनाक्रमलाई केही तरंगित पारे पनि यसले कुनै संकट ल्याउँदैन, यो समाधान भएरै छाड्छ,’ उनले भने, ‘राष्ट्रियसभाबाट पनि प्रक्रियाबाटै पारित हुन्छ र राष्ट्रपति जीले पनि यसलाई प्रमाणित गर्नुहुन्छ मेरो विश्वास छ ।’

राष्ट्रपति र सेनाका उच्च अधिकारीबीचको पछिल्लो भेटघाट स्वभाविक नदेखिएको टिप्पणी गरे ।

प्रचण्डले सहमतिमै १६५ सिटको बाँडफाँट हुने भन्दै आफू केही लचिलो बनेको संकेत गरे । त्यसका लागि कसले कहाँ जित्ने सम्भावना छ त्यसको विषयका कार्यदलले हेरेर आजै बेलुकासम्म टुंगो लगाउने सक्ने जानकारी दिए ।

‘१६५ सिटभित्रै मिल्छ, मिलाउनु पर्छ, कहाँ कसको जित्ने सम्भावना बढी छ भनेर कार्यदललाई हेर्न लगाएका छौं, आज बेलुकासम्म वहाँहरूले हेर्नुहुन्छ,’ उनले भने, ‘बाहिर देखिएजस्तो धेरै नै अप्ठेरो भन्ने हुँदैन, कसैको हार्ड एण्ड फाष्ट हुनुहुँदैन, आफ्नो गोरुको बारै टक्का हुनुहुँदैन ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np