Global Force Media

२०८१ बैशाख ४ - Tue Apr, 2024 -

‘सिट बाँडफाँटमा जटिल समस्या छैन, आज समझदारी गर्छौ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनभित्र सिट बाँडफाँटमा कुनै समस्या नभएको दावी गरेका छन् । शुक्रबार प्रेस सेन्टर कास्कीले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले गठबन्धनभित्र सिट बाँडफाँटको विषय समझदारी र सहमतिको निकट पुगिसकेको समेत बताए ।

‘हिजो अरु नेताहरुको अन्यत्र कार्यक्रम नपरेको भए हिजै टुंग्याउने स्थिति बनिसकेको थियो’, प्रचण्डले भने, ‘कतिपय बेला म उद्योग परिसंघको कार्यक्रममा जानुपर्ने, कतिपय बेला माधव नेपालको पर्ने र कतिपय बेला प्रधानमन्त्रीको कार्यक्रम परेका कारण हिजो केन्द्रीत भएर लाग्न पाएनौं ।’

उनले आज बिहान आफु पोखरा आउनुपरेको भन्दै पोखराबाट फर्केलगत्तै पुनः गठबन्धनमा छलफल गरेर टुंग्याउने दाबी गरे । ‘आज दुई तीन बजेबाट त्यसलाई टुंग्याउने हिसाबले छलफल गर्दैछौ । सिट बाँडफाँटमा त्यस्तो जटिल समस्या पैदा भएको केही पनि छैन, हामी समझदारी बनाएर नै जान्छौ’, प्रचण्डको भनाइ छ । उनले संविधान र लोकतन्त्रको उद्देश्यको रक्षा गर्न गठबन्धन बनेकाले गठबन्धन अझै आवश्यक रहेको बताए ।

ओलीलाई नागरिकता विधेयकको विरोध गर्ने नैतिकता छैन

अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई नागरिकता विधेयकको विरोध गर्ने कुनै नैतिकता नभएको पनि बताए । ‘हिजो राज्य व्यवस्था समितिबाट त्यसलाई बहुमतले पारित गरिसकेपछि म र राज्य व्यवस्था समितिको सभापति समेत पटक–पटक केपी ओलीलाई वैवाहिक अंगिकृतसहित लैजाउ सदनमा भन्दा मान्नुभएन । ६ महिनासम्म रोक्नुभयो’, प्रचण्डले भने, ‘अन्ततः यही कुरालाई अध्यादेशमार्फत ल्याउने कुनै तुक, आधार र नैतिकता छैन ।’

त्यो नैतिकता नभएपनि एमालेले नागरिकता विधेयकको विरोध गरिरहेको प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले दुवै सदनबाट पारित भैसकेको उक्त विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगरेकोमा असन्तुष्टि जनाए । ‘सामान्यतया दुवै सदनबाट पारित भैसकेपछि राष्ट्रपतिले त्यसलाई पारित गर्नुपर्दथ्यो, पहिले गर्नुभएन र फिर्ता पठाउनुभयो’, प्रचण्डले भने, ‘संविधानले राष्ट्रपतिलाई एकपटक यस्ता विधेयकहरुमा चित्त बुझेन भने हेर भन्ने अधिकार नै छ ।’ प्रचण्डले फेरि दोस्रो पटक दुवै सदनबाट गैसकेपछि अब यताउता गर्ने अधिकार नभएको बताए ।

‘दोस्रो पटक दुवै सदनबाट गैसकेपछि अब राष्ट्रपतिलाई यताउता गर्ने अधिकार छैन । त्यसकारण हामी आशा गर्छौ यो पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ’, प्रचण्डको विश्वास छ । नागरिकता विधेयक प्रमाणीकरण गरेर लाखौं नेपालीलाई राष्ट्रपतिले बचाउनुपर्ने पनि प्रचण्डको भनाइ छ । उनले शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक पनि संसदमा पुगेको भन्दै छिटै टिआरसी सम्बन्धि विधेयकलाई पनि सहमतिबाट अघि बढाउने तयारी भइरहेको बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np