Global Force Media

२०८१ बैशाख १२ - Wed Apr, 2024 -

आयोगलाई गगन थापाको स्पष्टीकरण: डेंगु नियन्त्रण अभियानले चुनावलाई असर गर्दै

आयोगलाई गगन थापाको स्पष्टीकरण: डेंगु नियन्त्रण अभियानले चुनावलाई असर गर्दै

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले चलाएको डेंगु नियन्त्रण अभियानले निर्वाचनको निष्पक्षतालाई प्रतिकूल असर नगर्ने स्पष्टीकरण निर्वाचन आयोगलाई दिएका छन् । आयोगले दोस्रोपटक सोधेको स्पष्टीकरणको जवाफ पेस गर्दै उनले अभियान चलाएको विषयमा आफूलाई स्पष्टीकरण सोधिनु न्यायोचित नभएको दाबी गरेका छन् ।

‘पहिलेदेखि गरी आएको निःशुल्क डेंगु परीक्षण र परामर्शको मानवीय अभियानको विषयमा आयोगबाट वास्तविकतातर्फ ध्यान नदिई उजुरीकै भरमा आचारसंहिताको गम्भीर उलङ्घन भएजसरी सोधिएको स्पष्टीकरण न्यायोचित नभएको आशयबाट मेरो मन्तव्य आएको हो,’ थापाले स्पष्टीकरणमा लेखेका छन्, ‘यो अभियान निर्वाचनको सम्मुखमा संचालन गरेको नभई आचारसंहिता लागु हुनुभन्दा धेरै पहिलादेखि निरन्तर संचालनमा रहेको, निर्वाचनसँग यस कार्यक्रमको कुनै सम्बन्ध नभएको र आचारसंहिता लागु भएपछिको नयाँ कार्यक्रम पनि नभएको तथा मैले नयाँ कार्यक्रम चलाउँछु, निर्वाचन आचारसंहिताको उलङ्घन गर्छु भन्ने आशयले कुनै मन्तव्य पनि नदिएकोले यस्तो कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रतिकुल असर पर्दैन भन्ने मेरो विश्वास रहेको छ।’

थापालाई यसअघि पनि यसै अभियानका विषयमा आयोगले स्पष्टीकरण सोधेको थियो। उक्त स्पष्टीकरण पत्रको जवाफ पनि उनले पठाइसकेका थिए।

यस्तो छ थापाले पेस गरेको स्पष्टीकरण :

उपरोक्त विषयमा त्यस आयोगबाट ‘तपाईंले पुनः निर्वाचन आचारसंहिताको विपरित हुनेगरी सार्वजनिक वक्तव्य दिई मतदातालाई प्रभावित गर्ने कार्य गर्नुभएको देखिएकोले पत्र प्राप्त भएको २४ घण्टाभित्र प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नु’ भनि प्रेशित भएको प.सं. च.नं. २०७९/८० आ.स. ७१ मिति २०७९ कार्तिक ११ गतेको पत्र नेपाली कांग्रेस पार्टी कार्यालयको इमेलमा पठाइएको रहेछ। उक्त पत्र पार्टी कार्यालयका कर्मचारी मार्फत मिति २०७९ कात्तिक १४ गते प्राप्त भएको छ। उक्त पत्र प्राप्त भएको २४ घण्टाभित्रै यो स्पष्टिकरण पेश गरेको छु।

सर्वप्रथमः म गगनकुमार थापा लोकतन्त्र र लोकतान्त्रिक प्रक्रियाप्रति अटुट आस्था र विश्वास राख्ने व्यक्ति भएकोले सदैव निर्वाचनको स्वतन्त्रता, स्वच्छता र निश्पक्षताको पक्षमा सक्रिय रही आएको छु। मैले निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकुल कुनै कार्य नगरेको र नगर्ने प्रतिवद्धतासहित मिति २०७९ कार्तिक ८ गतेका दिन ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्शका विषयमा विस्तृत व्यहोरा उल्लेख गरी स्पष्टिकरण पेश गरिसकेको तहाँलाई विदित नै छ। जहाँसम्म निर्वाचन आचारसंहिताको विपरित हुनेगरी सार्वजनिक वक्तव्य दिई मतदातालाई प्रभावित गर्ने कार्य गरेको भन्ने आयोगको प्रश्न छ, सो सम्बन्धमा मेरो धारणा निम्नानुसार रहेको छ।

१. म स्पष्टिकरण प्रस्तुतकर्ता काठमाडौं क्षेत्र नं. ४ को निवर्तमान प्रतिनिधिसभा सदस्य प्रतिनिधिसभा सदस्यको रुपमा रहँदा जनसरोकारका विषय र जनताका समस्याका वारेमा सदैव सचेत रहँदै समाधानका लागि आफ्नोतर्फबाट सदनभित्र र वाहिर इमान्दार रुपमा सक्दो प्रयास गरिरहेको विदित नै छ। कोरोना महामारीका समयमा संसदमार्फत गर्ने प्रयाससंगै यस क्षेत्रको जनप्रतिनिधिको रुपमा कोरोना संक्रमणको जोखिमबाट क्षेत्रवासीलाई जोगाउन सचेतना अभियानका साथै ‘हेल्थ एट होमसँगको सहकार्यमा होम आइसोलेसनमा वस्नुभएका नागरिकलाई निःशुल्क रुपमा चिकित्सकीय परामर्श, अत्यावश्यक स्वास्थ्य सामाग्री घरमै उपलब्ध गराउने, आइसोलेसन सेन्टर संचालन गर्ने र अस्पताल आवातजावत गर्ने समस्या भएकालाई अस्पताल लैजाने र ल्याउने र लगायत यस क्षेत्रमा बसोवास गर्ने करिव पाँच हजार जना व्यक्तिलाई निःशुल्क सेवा दिइ आएको व्यहोरा पुनः स्मरण गराउन चाहन्छु।

२. कोरोना संक्रमणको जोखिम कम भएसंगै मैले आफ्नो पहिलेदेखिको सोंच अनुसारको शहर केन्द्रित प्राथमिक स्वास्थ्य संरचना बनाउने उद्देश्यले का.म.न.पा. वडा नं. ३० संगको सहकार्यमा उक्त वडामा संचालित आइसोलेसन सेन्टरलाई नै शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रुपान्तरण गरी चलाइएको छ। उक्त केन्द्रमार्फत ६ महिना अघिदेखि निरन्तर निःशुल्क परामर्श र परीक्षण भइरहेको पनि अवगत गराउन चाहान्छु। यसै बीचमा डेंगीको प्रकोप वढेसंगै उक्त शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निर्वाचन आचारसंहिता लागु हुनुभन्दा धेरै अगाडि देखि नै आवश्यकता अनुसार घर टोलमा पुगेर निःशुल्क परिक्षण र नियमित परामर्श तथा निरन्तर निगरानीको सेवा दिइरहेको थियो। संभवतः डेंगीको यो प्रकोपमा यसरी निःशुल्क परीक्षण र परामर्श दिएको संस्था यो नै होला। साथै प्रवर्द्धन केन्द्रभन्दा टाढा रहेका यस क्षेत्रका टोल टोलमा कोरोना महामारीमा जस्तै प्रवर्द्धन केन्द्रमार्फत हेल्थ एट होम र सेन्ट्रल डायग्नोसिससंगको सहकार्यमा डेंगी प्रकोपको प्रारम्भिक समयदेखि नै परीक्षण र परामर्श गरिरहेको हो। यस सेवाले स्वास्थ्य संस्थासम्म पुग्न नसकेका सयौं नागरिकले निःशुल्क परीक्षण र परामर्श पाउनुभएको छ। यसवारेमा क्षेत्रवासीलाई सु-सुचित गर्न जानकारीमूलक सन्देश निर्वाचन आयोगबाट मिति २०७९ असोज १२ गते निर्वाचन आचारसंहिता लागु हुनुपुर्व अर्थात् मिति २०७९ असोज ७ गते नै ट्वीट तथा भिडियो सन्देश लगायत विभिन्न सामाजिक सञ्जालमार्फत जारी गरेको कुरा यस अघिकै स्पष्टिकरणमा पनि स्मरण गराइसकेको छु। जनस्वास्थ्यका विषय र नागरिकका अत्यावश्यक सेवा निर्वाचन वा राजनीतिक प्राथमिकताले प्रभावित हुनुहुँदैन भन्ने म ठान्दछु। त्यसैले जनस्वास्थ्यसंग प्रत्यक्ष जोडिएका यी गतिविधि कोरोना महामरीको प्रारम्भिक समयदेखि नै नियमित प्रक्रियाको रुपमा निरन्तर चलिरहेका र यो निर्वाचन लक्षित अभियान नभएको पनि यस अघिको स्पष्टिकरणमा नै प्रष्ट गरिसकेको छु।

३. मलाई सोधिएको स्पष्टिकरणमा निर्वाचन आचारसंहिता २०७९ को दफा ५ को खण्ड (ख) को सन्दर्भ जोडिएको रहेछ। मैले बुझेसम्म उक्त दफा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सो का पदाधिकारीलाई आकर्षित हुने हो। जहाँसम्म निर्वाचन आचारसंहिता लागु भै सकेको अबस्थामा विपद तथा महामारी आइपरेमा सरकारले आयोगको सहमतिमा कार्यक्रम ल्याउन सक्ने नै व्यवस्था हुँदाहुदै किन जानाजान रुपमा गरेको भन्ने प्रश्न छ, मैले सार्वजनिक रुपमा धारणा राख्दैगर्दा सरकारले कोरोना महामारी र डेंगी प्रकोप रोकथाम र नियन्त्रणमा संवेदनशील नभएको र प्रभावकारी कदम चाल्न नसकेकोमा सरकारलाई शुरुवातवाटै सचेत गराउँदै आएको तथा पहिलेदेखिनै एक जनप्रतिनिधिको रुपमा आफ्नोतर्फबाट क्षेत्रका जनतालाई जतिसक्दो प्रयास गरिआएकोमा निर्वाचनका कारणले सो अभियान वन्द गर्न मानवीय दृष्टिले पनि उपयुक्त र न्यायोचित नहुने ठानि आफ्नो कर्तव्य पूरा गर्न सो कुरा व्यक्त गरेकोसम्म हुँ. अन्यथा केही होइन। कोरोना महामारी तथा डेंगी प्रकोपको आपतकालिन अवस्थामा जनताले तत्काल परामर्श, परीक्षण र उपचारको व्यवस्था नपाउँदा त्यसबाट उत्पन्न हुनसक्ने स्वास्थ्य समस्याको मानवीय संवेदनशिलतालाई दृष्टिगत गरी सरकारले उपयुक्त ध्यान पुयाउन नसकेको अवस्थामा मेरो निर्वाचन क्षेत्रमा पहिलेदेखि नै यो अभियान संचालन गरि आएको हो। तसर्थ, डेंगीको परीक्षण र परामर्शका सम्बन्धमा मैले निर्वाचन आचारसंहिता लागु हुनुपुर्व संचालन गरेको कार्यक्रम भएकोले यसलाई निर्वाचन लक्षित जानाजान गरेको आचारसंहिता उलङ्घन भएको भनी संकुचित अर्थ गर्न किमार्थ पनि मिल्दैन। मानवीयता र आपतकालिन सेवाको विषयमा निर्वाचन आचारसंहिताको परिच्छेद ४ मा स्पष्ट व्यवस्था नगरिनुले पनि यसलाई आचारसंहिताको उलङ्घनको रुपमा व्याख्या गर्न मिल्दैन। वरु निर्वाचन वा जुनसुकै परिस्थितिमा पनि म जस्ता सवै सचेत नागरिकको सामाजिक दायीत्व र कर्तव्य हो भन्ने ठान्दछु। त्यसैले जनस्वास्थ्यको यस्तो संवेदनशील विषयलाई निर्वाचनको आचारसंहीतासंग जोड्नु उचित हुँदैन। साथै निर्वाचन आचारसंहिताको परिच्छेद ४ मा ‘राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण सम्बन्धि व्यवस्था रहेको छ। सो व्यवस्थाप्रति म पूर्ण सचेत र जानकार छु र मैले गरेको गतिविधि सोको वर्खिलाप नभएको जानकारी गराउन चाहान्छु। निर्वाचनको निश्पक्षता र स्वतन्त्रताप्रति मेरो अटल आस्था र विश्वास रहेकोले निर्वाचन आचारसंहिताको उलङ्घन गर्ने विषय म सोच्न पनि सक्दिन ।

४. जहाँसम्म डेंगी परीक्षण र परामर्श सेवाको कुरा छ यो कार्यक्रम निर्वाचन तोकिपछि ल्याइएको कुनै नयाँ विषय र कार्यक्रम होइन। यो कोरोना महामारी र पछि डेंगीको शुरुवातदेखि नै निरन्तर संचालित कार्यक्रम हो। यस क्षेत्रका वासिन्दाले कोरोना लगायतका विपद महामारीमा जस्तै डेगींको परीक्षण र परामर्श लगायतका विषयमा राखेको चासो र आग्रहलाई स्पष्ट पार्न आवश्यक ठानेकोले निर्वाचनको समय छ भनेर अन्देखा गर्न नमिल्ने ठानी पहिलादेखि दिएको सेवालाई पुनः स्मरण गराउनु आफ्नो कर्तव्य र सामाजिक दायीत्व ठानी जानकारी मात्र गराइएकोले यसलाई सोही अभियानको निरन्तर प्रक्रियाको रुपमा बुझ्नुपर्दछ। मन्तव्यको विषयवस्तु र सन्देश आचारसंहिता लागु हुनु पहिलेको जनस्वास्थ्य सन्देशको निरन्तरताको रुपमा नै मैले प्रस्तुत गरेको हुँ। जनस्वास्थ्यका यस्ता संवेदनशील विषयमा मिति २०७९ कार्तिक ६ गते आयोगले सोधेको स्पष्टिकरणका सन्दर्भ जोडेर सो मन्तव्य आएको भए तापनि उक्त मन्तव्यको आसय मतदातालाई प्रभावित पार्ने होइन र निर्वाचनको आचारसंहिताको उलङ्घन गर्ने पनि होइन।

पहिलेदेखि गरी आएको निःशुल्क डेंगी परिक्षण र परामर्शको मानवीय अभियानको विषयमा आयोगवाट वास्तविकतातर्फ ध्यान नदिई उजुरीकै भरमा आचारसंहिताको गम्भीर उलङ्घन भएजसरी सोधिएको स्पष्टीकरण न्यायोचित नभएको आशयबाट मेरो मन्तव्य आएको हो। यो अभियान निर्वाचनको सम्मुखमा संचालन गरेको नभई आचारसंहिता लागु हुनुभन्दा धेरै पहिलादेखि निरन्तर संचालनमा रहेको, निर्वाचनसंग यस कार्यक्रमको कुनै सम्बन्ध नभएको र आचारसंहिता लागु भएपछिको नयाँ कार्यक्रम पनि नभएको तथा मैले नयाँ कार्यक्रम चलाउँछु, निर्वाचन आचारसंहीताको उलङ्घन गर्छु भन्ने आशयले कुनै मन्तव्य पनि नदिएकोले यस्तो कार्यवाट निर्वाचनको स्वच्छता र निश्पक्षतामा प्रतिकुल असर पर्दैन भन्ने मेरो विश्वास रहेको छ।

५. निर्वाचनमा मतदातालाई स्वतन्त्र रूपमा मतदान गर्न पाउने अन्तरनिहित संवैधानिक हक र निर्वाचनको स्वच्छता र निष्पक्षताको प्रतिकूल हुने कुनै काम कारवाही म बाट भएको छैन भन्ने कुरामा म प्रष्ट छु। वस्तुतः निर्वाचन आचारसंहिता २०७९ परिच्छेद ४ मा व्यवस्था भएको कुन दफाको वर्खिलाप हुने कार्य गरेको भन्ने कुरा मलाई सोधिएको स्पष्टिकरण पत्रमा उल्लेख भएको छैन। यदी मैले डेंगी प्रकोप फैलिइरहेको वर्तमान अवस्थामा आम नागरिकको स्वास्थ्यलाई ख्याल राखी दिएको नियमित जनस्वास्थ्य सम्बन्धि भनाइ र पहिलेदेखि प्रदान भएको सेवालाई निर्वाचन आचारसंहिता उलङ्घन भएको वा स्वतन्त्र र धाँधलिरहित तवरबाट निर्वाचन सम्पन्न गराउन कुनै अवरोध सिर्जना भएको भन्ने निर्वाचन आयोगलाई लागेको अर्थ गर्ने हो भने पनि निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ (२) बमोजिमको प्रकृया अवलम्बन नगरी दफा २३ (३) र (४) बमोजिम कारवाही हुनसक्ने आधार र कारण रहँदैन। उक्त दफा २३(२) वमोजिमको आदेश उलङ्घन गरेको अबस्थामा मात्र दफा २३ (३) र (४) आकृष्ट हुने हुन्छ। तर त्यो अवस्था प्रस्तुत विषयमा विद्यमान छैन। जुन कुरा मैले यस अघिको स्पष्टिकरणपत्रमा पनि उल्लेख गरिसकेको छु। तसर्थ, मैले स्पष्टिकरण पत्रमा उल्लेख गरे बमोजिम निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न), दफा ५ को खण्ड (ख) र परिच्छेद ४ को प्रतिकूल कुनै कार्य नगरेकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) वमोजिमको कारवाही र सजाय हुनुपर्ने होइन ।

६. अन्त्यमा, म गगनकुमार थापा सदैव निर्वाचन आचारसंहिताप्रति सचेत रही आफ्नो कर्तव्य निर्वाह गर्दै आएको छु। त्यसैगरी निर्वाचनको स्वतन्त्रता, स्वच्छता र निश्पक्षताको पक्षमा सक्रिय रही आएको र निर्वाचन आचारसंहिता तथा निर्वाचनका सन्दर्भमा आयोगले दिएको निर्देशन पालना गर्न पुर्ण प्रतिवद्ध रहेको व्यहोरा दोहोऱ्याउन चाहान्छु।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np