पूर्णबहादुर खड्काले भेटे प्रचण्डलाई, गठबन्धनको सरकार बनाउनेबारे छलफल
पूर्णबहादुर खड्काले भेटे प्रचण्डलाई, गठबन्धनको सरकार बनाउनेबारे छलफल
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।
बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम पुगेर फर्किने क्रममा खड्का खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका थिए।
भेटमा सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको खड्काले बताए।
माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनकै नेतृत्वमा सरकार बनाउने कुरामा कुनै द्विविधा नरहेको बताएको खड्काले जानकारी दिएका छन्।
‘गठबन्धनको नेतृत्वमा सरकार बनाउने कुरामा कुनै द्विविधा नराख्न उहाँले भन्नुभयो। सरकार निर्माणका सन्दर्भमा छलफल हुँदा सम्पूर्ण निर्वाचन परिणाम आएपछि वृहत छलफल गर्ने विषयमा कुरा भयो,’ खड्काले सेतोपाटीसँग भने।
सम्पूर्ण निर्वाचन परिणाम सार्वजनिक भएपछि शीर्ष नेताबीच छलफल गर्ने विषयमा संवाद भएको खड्काले बताए।