Global Force Media

२०८० चैत्र १६ - Fri Mar, 2024 -

कांग्रेसको नेतृत्वको मोर्चाले देखायो ‘विचित्र’ चरित्र !

कांग्रेसको नेतृत्वको मोर्चाले देखायो ‘विचित्र’ चरित्र !

काठमाडौँ । नेपाली कांग्रेस नेतृत्वको विपक्षी मोर्चाले संसदीय राजनीतिमा संघदेखि प्रदेशसम्म ‘विचित्र’ चरित्र देखाएको छ । संघ र सबै प्रदेशमा राजकीय पद विमुख भएको उक्त मोर्चाले सत्ता गठबन्धनमा अविश्वास पैदा गर्न विचित्रको चरित्र प्रदर्शन गरेका देखिएको हो ।

संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेस नेतृत्वको मोर्चाले सभामुख र उपसभामुखमा सत्ता गठबन्धनसँग दोहोरो नीति लिएको छ ।

यसअघि सभामुखको भूमिका निष्पक्ष हुनुपर्ने भएकाले दलीय आधारमा चुनावी प्रतिस्पर्धा गर्दा राम्रो सन्देश नजाने तर्क कांग्रेसले गरेको थियो । सोही आधारमा त्यतिबेला उम्मेदवार नउठाएको कांग्रेसले अहिले भने प्रतिस्पर्धा रोज्यो ।

विपक्षी मोर्चा बनाएर कांग्रेसले सत्ता गठबन्धनका सभामुखका उम्मेदवारसँग प्रतिस्पर्धा गरेको हो । सत्ता गठबन्धन उम्मेदवारी दिएका एमाले सांसद देवराज घिमिरेसँग कांग्रेस सांसद ईश्वरी न्यौपानेले प्रतिस्पर्धा गरिन् ।

चुनाव नतिजा भने एमालेका घिमिरेको पक्षमा आयो । चुनावी अंकगणितमा पराजय निश्चित देखिँदा पनि कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवारी दियो । शुक्रबार कांग्रेस संसदीय कार्यदलको बैठकले उपसभामुखमा सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको छ ।

सत्ता गठबन्धनबाट उप–सभामुख उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्द्रिरा रानाविरुद्ध कांग्रेसले यादवलाई मैदानमा उतारेको छ । यादवलाई कांग्रेससहित नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साथ छ ।

कांग्रेस नेतृत्वको चार दलीय मोर्चासँग चुनाव जित्ने सांसदको संख्या छैन । तर पनि कांग्रेसले सभामुख र उपसभामुख दुबै पदमा उम्मेदवारी दिएर प्रतिस्पर्धाको नीति अपनाएको छ ।

प्रदेशमा पनि छैन तालमेल

संघमा मात्र होइन प्रदेशमा पनि कांग्रेस नेतृत्वको मोर्चाले यस्तै विचित्रको चरित्र देखाएको छ । कुनै प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ भने कुनै प्रदेशमा विपक्षमा उभिएको छ । सभामुख र उपसभामुखको निर्वाचनमा पनि कांग्रेसले अनौँठो नीति अख्तियार गरेको छ । कांग्रेसको मोर्चामा रहेका एकीकृत समाजवादी र लोसपाबीच पनि प्रदेशमा पुरापुर तालमेल मिलेको छैन ।

एकीकृत समाजवादीले गण्डकीको सभामुख र कर्णालीको उपसभामुखमा माओवादी केन्द्रका उम्मेदवारलाई मतदान गरेको छ । माओवादी नेतृत्वको बागमती सरकारलाई विश्वासको मत दिएको छ । एकीकृत समाजवादीले मधेस, कर्णाली, सुदूरपश्चिमको सभामुख तथा प्रदेश १ को उपसभामुखमा कांग्रेसका उम्मेदवारलाई मत दिएको थियो । बागमतीको सभामुखमा भने तटस्थ बस्यो । एकीकृत समाजवादीले कांग्रेसको समर्थनमा मधेस र सुदूरपश्चिमको उपसभामुखमा उम्मेदवारी दिएको थियो । अन्य प्रदेशमा एमालेविरुद्ध उभिएको एकीकृत समाजवादीले लुम्बिनीमा भने एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दियो ।

लोसपाले मधेस प्रदेशको सभामुखमा एमालेका उम्मेदवारलाई मत दिएको थियो । उसले उपसभामुखमा पनि जनमत पार्टीकी बबिता कुमारी राउतलाई समर्थन गरेको थियो ।

कांग्रेसले पाँच वटा प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने नीति लिँदा एकीकृत समाजवादीले तीन मुख्यमन्त्रीलाई विश्वासको मत दिएन । लोसपाले प्रदेशमा सत्ता गठबन्धन रोजेको छ भने केन्द्रमा कांग्रेसको मोर्चामा जोडिएको छ । राष्ट्रिय जनमोर्चा भने सत्ता गठबन्धनको पुरापुर विपक्षमा उभिएको छ ।

कांग्रेस नेतृत्वको मोर्चा एमालेप्रति आक्रमक देखिएको छ । कांग्रेसले एमालेका कुनै पनि मुख्यमन्त्रीलाई विश्वासको मत पनि दिएको छैन । एमाले नेतृत्व गरेको प्रदेश १, लुम्बिनी र गण्डकी सरकारलाई कांग्रेसले विश्वासको मत दिएन ।

विश्वासको मत लिन बाँकी एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई पनि कांग्रेसले मत नदिने बुझिएको छ । माओवादी नेतृत्वको कर्णाली सरकारलाई पनि कांग्रेसले विश्वासको मत भएको छैन । तर मधेस प्रदेशमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादव र बागमतीमा माओवादीका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई भने कांग्रेसले विश्वासको मत दिएको छ ।

यता कांग्रेसले सभामुख र उपसभामुखमा मुख्यतः प्रदेशमा पनि एमालेप्रति प्रतिस्पर्धाको नीति अपनाएको छ । प्रदेशको सभामुख र उपसभामुख निर्वाचनमा कांग्रेसले एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गरेको छ । माओवादीप्रति प्रदेशमा पनि कांग्रेसले नरम नीति लिएको छ ।

कांग्रेसले प्रदेश १ र लुम्बिनीमा सभामुख निर्वाचनमा माओवादी उम्मेदवारलाई सघाएको छ । कांग्रेसले प्रदेश १ र लुम्बिनीमा माओवादी केन्द्रका सभामुखलाई निर्विरोध हुन सघाएको छ । प्रदेश १ मा प्रमुख प्रतिपक्षी कांग्रेसले उम्मेदवारी नदिएपछि माओवादी केन्द्रका बाबुराम गौतम सभामुखमा निर्विरोध निर्वाचित भए ।

उपसभामुखमा भने एमालेविरुद्ध कांग्रेसले उम्मेदवारी दिएको थियो । एमालेकी सिर्जना दनुवारविरुद्ध कांग्रेसले प्रदेश सांसद लिला राईलाई मैदानमा उतारेको थियो । मधेसमा कांग्रेसले सभामुख र उपसभामुखमा प्रतिस्पर्धा गरेको थियो  ।

सभामुखमा एमालेका रामचन्द्र मण्डलविरुद्ध कांग्रेसका जंगीलाल राय उम्मेदवार थिए भने उपसभामुखमा जनमत पार्टीकी बबिताकुमारी राउतसँग एकीकृत समाजवादीकी बेची लुङ्गेलीले प्रतिस्पर्धा गरेकी थिइन् ।

कांग्रेसले बागमतीमा सत्ता गठबन्धनबाट सभामुखमा राप्रपाका भुवन पाठकविरुद्ध शिवराज अधिकारीलाई उम्मेदवार बनाएको थियो । यस्तै उपसभामुखमा एमालेकी अप्सरा चापागाइविरुद्ध कांग्रेसले सुना परियारलाई उम्मेदवार बनाएको थियो ।

यस्तै गण्डकी प्रदेशको सभामुखमा सत्ता गठबन्धनबाट माओवादीका कृष्ण धितालविरुद्ध कांग्रेसले सरस्वती अर्याल तिवारीलाई उम्मेदवार बनाएको थियो ।

यस्तै उपसभामुखमा एमालेकी विनाकुमारी थापाविरुद्ध कांग्रेस सांसद पार्वती तामाङले उम्मेदवारी दिएकी थिइन् ।

लुम्बिनी प्रदेशमा कांग्रेसले उम्मेदवारी नदिँदा सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसी निर्विरोध निर्वाचित भए । कर्णालीका सभामुख र उपसभामुखमा भने एमाले र माओवादी दुबैका उम्मेदवारविरुद्ध कांग्रेस उभियो ।

सत्ता गठबन्धनबाट सभामुखमा एमालेकी नन्दा गुरुङ र उपसभामुखमा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएका छन् । कांग्रेसले कर्णालीको सभामुखमा खड्गबहादुर पोखरेल र उपसभामुखमा इन्द्राकुमारी शाहीलाई उम्मेदवार बनाएको थियो । सुदूरपश्चिम प्रदेशमा पनि माओवादीसँग कांग्रेसले प्रतिस्पर्धा गरेको थियो ।सुदूरपश्चिमको सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारीविरुद्ध कांग्रेसले मानबहादुर रावललाई उठाएको थियो । तीन चरणसम्म निर्वाचनबाट माओवादीका भण्डारी निर्वाचित भएका थिए ।

यस्तै उपसभामुखमा एमालेकी कोइलीदेवी चौधरीविरुद्ध एकीकृत समाजवादीकी माया पन्तको उम्मेदवारी थियो । संघदेखि प्रदेशसम्म विपक्षी मोर्चामा यो अन्यौल देखिनुमा माओवादीसँगको चुनावी सहकार्य र भावी समीकरणको सम्भावना कारक रहेका नेताहरु बताउँछन् ।

कांग्रेसका एक पदाधिकारीले भने, ‘माओवादीले गठबन्धन भत्काएर नयाँ समीकरण बनाए पनि चुनावताको गठबन्धन बिउँताउने प्रयासले यस्तो भइरहेको छ । यसले संसदीय राजनीति विचित्रको देखिन गयो ।’

सत्ता गठबन्धनमा अविश्वास र आशंका पैदा गराउन केन्द्रदेखि प्रदेशसम्म विपक्षी मोर्चाले रणनीतिक रुपमा चलखेल गरिरहेको उनको भनाइ छ । उनले भने, ‘अहिले सत्ता र विपक्षीको अभ्यास भइरहेको छैन । कांग्रेसले एमालेलाई प्रतिस्पर्धी ठानेको छ । एकीकृत समाजवादीले इगोको राजनीति गरिरहेको छ । त्यसैले भद्रगोल देखिएको हो ।’

कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले रहेकाले सोहीअनुसार पार्टी अघि बढेको बताए । उनले भने, ‘संघमा हामी सबैभन्दा ठूलो दल हो र प्रदेशसभामा पनि सबैभन्दा ठूलो दल हो । तर राजनीतिक प्रतिस्पर्धा त एमालेसँग हो नि । त्यसैले उसका उम्मेदवारलाई सर्वसम्मत हुन दिन्नौं ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np