Global Force Media

२०८१ बैशाख ११ - Tue Apr, 2024 -

आयोगले बुझायाे राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन

आयोगले बुझायाे राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । यही चैत ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित भएका थिए ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको संविधानको भाग २४ धारा २४६ मा संविधान र संघीय कानुनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नु आयोगको प्रमुख कार्य रहने व्यवस्थाबमोजिम आयोगले ती निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिए ।

उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले लोकतन्त्र परिपक्व हुँदै गएको उल्लेख गरे ।

प्रमुख आयुक्त थपलियाले गत फागुन २५ मा निर्वाचित भई राष्ट्रपति जस्तो मुलुकको सर्वाेच्च र गरिमामय पदमा रही महत्वपूर्ण जिम्मेवारी सम्हालेकामा राष्ट्रपति पौडेलप्रति बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

उनले यो वर्ष निर्वाचनमय वर्ष रहेको उल्लेख गर्दै गत वर्ष २०७८ माघ १२ गते राष्ट्रियसभाको रिक्त १९ पदको निर्वाचनबाट सुरु भएको यो शिलशिला यही चैत ३ मा उपराष्ट्रतिको निर्वाचन सम्पन्न भएसँगै पूरा भएको बताए । यस कार्यमा नेपाल सरकार, सम्बन्धित निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता र सबै पक्षको सहयोगका लागि आयोगका तर्फबाट धन्यवाद व्यक्त गरे ।

उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभार मध्ये उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादव ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए ।

कार्यक्रममा निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, आयोगका सचिव गोकर्णमणि दुवाडीसहित सहभागी थिए ।
नेपालको संविधानको धारा ६७ अनुसार नेपालमा एक उपराष्ट्रपति रहने र राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट सम्पादन गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने व्यवस्था छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी २०७९ माघ १६ गतेको आयोगको बैठकबाट २०७९ चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको थियो ।

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np