जात्रा अवलोकन गर्न आउने पाहुनाको स्वागत
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका अतिथिहरूलाई स्वागत गरेका छन्। उनीहरूको सम्मानमा महानगरपालिकाले स्वागत कार्यक्रम आयोजना गरेको थियो।
महानगरपालिकाको निमन्त्रणामा यँया (इन्द्रजात्रा) अवलोकनका लागि ३ वटा देशका ५ वटा नगर र एउटा संस्थाबाट प्रतिनिधित्व गर्दै २० जना अतिथि काठमाडौँ आएका छन् । यस्तै आन्तरिक भगिनी सम्बन्ध भएका सहरहरूबाट प्रमुखसहित प्रतिनिधिहरू आएका छन्।
मौलिक प्रविधि, सीप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न महानगरपालिकाले भगिनी तथा संस्थागत सम्बन्ध भएका नगरबाट प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरेको थियो।
सम्पदा मार्गको अवलोकन
आज बिहान बसन्तपुर र रथयात्रा हुने मार्गको पैदल यात्रा आयोजना भयो। उनीहरूले आज नै सुरु हुने कुमारी रथ यात्राको अवलोकन गर्नेछन्। भोलि भक्तपुर दरबार क्षेत्रको भ्रमण हुनेछ। त्यसपछि आर्ट ग्यालेरीको अवलोकन हुनेछ। भोलि नै हाँडीगाउँमा आयोजना हुने मौलिक तथा परम्परागत प्रदर्शनीमा अतिथिहरूलाई सहभागी गराइनेछ। १३ गते स्वयम्भूको अवलोकन भ्रमणपछि अतिथिहरूलाई नेपाली बजार घुम्ने समय उपलब्ध गराइनेछ। असोज १४ गते उनीहरू स्वदेश फर्कनेछन्।
जात्रा कार्यक्रमअन्तर्गत आजबाट रथ यात्रा सुरु हुनेछ। आज दिन तल्लो टोल (बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ। रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तिहरूले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्नु हुनेछ। यस दिनको रथयात्रा सकिएपछि दागी (इन्द्र देवताकी आमा सँगसँगै वर्ष भरिका दिवगत व्यक्तिका परिवारहरू रथ यात्राको रुटमा नगर परिक्रमा गर्ने) परम्परा रहेको छ।
भोलि माथिल्लो टोल (बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ। रथ यात्राका समयमा पञ्चवुद्धका प्रतीक ५ जना बज्राचार्य गुरुजुहरु भैरवको रथको पछाडि र कुमारीको रथको अगाडि हिँड्ने चलन छ।
२०८० आश्विन १५ गते नानीचाका दिन (बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर) रथयात्रा हुनेछ। यसदिन महिलाहरूले रथ तान्नेछन्। २०६९ सालबाट यस दिनको रथ महिलाले तान्न थालेका हुन्। यसै दिन श्रीहरुको हातबाट राष्ट्रपतिले टीका ग्रहण गर्ने कार्यक्रम हुनेछ। यस दिन बेलुका ८ बजेर ३७ मिनेटमा इन्द्रध्वज पतन गर्ने साइत छ। इन्द्रध्वज ढालिएसँगै यस वर्षका लागि इन्द्र जात्राका कार्यक्रम सकिनेछन्।
यसरी ३ दिन हुने रथ यात्राका क्रममा पर्ने रुटहरूमा श्री लाखे आजु, श्री पुलुकिसी र श्री हलचोक आकास भैरव सँगसँगै अगाडि पछाडि सहभागी हुन्छन्। रथयात्रा रुटका स्थानीयले जीवित देवीदेवताको श्रद्धापूर्वक पूजा आज गर्ने गर्छन्।
महानगर