Global Force Media

२०८१ माघ ८ - Tue Jan, 2025 -

इजरायलमा मृत्यु भएका विद्यार्थीको शव काठमाडौं ल्याइयो

काठमाडौं । इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीहरुको शव नेपाल ल्याइएको छ ।

पहिलो चरणमा नारायणप्रसाद न्यौपाने, दीपेशराज विष्ट र लोकेन्द्रसिंह धामीको शव आज बिहान काठमाडौं ल्याइपुर्याइएको छ । आशिष चौधरीको शव भने आज दिउँसो आइपुग्दै छ ।

न्यौपानेको शव भने गएराति नै काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आज बिहान ल्याइपुर्याइएका धामी र विष्टको शव पनि त्रिवि शिक्षण अस्पतालमै लगिएको छ । आशिषको शव पनि आइपुग्यो भने चारवटै शव अपराह्न दुई बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लगिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायलस्थित नेपाली दूतावासका अनुसार पहिलो चरणमा चारवटा शव पठाइएको  छ भने बाँकी ६ वटा शव पछि पठाइने छ ।

कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । उनको खोजी भइरहेको दूतावासले जनाएको छ ।

युद्ध तत्काल रोकिने स्थिति नदेखिएपछि सरकारले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको थियो । पहिलोपटक नेपाल एयरलाइन्सको हवाई जहाज पठाएर २५४ जना नेपालीहरुलाई स्वदेश ल्याइएको थियो भने १८ जना नेपालीहरु भारतको उद्धार उडान मार्फत् आएका थिए ।

नेपाल फर्किन चाहनेहरुका लागि इजरायलको तेलअविवस्थित नेपाली दूतावासले अनलाइन रजिष्ट्रेसन गर्दै आएको छ । अनलाइनमा थप १४० जना नेपालीहरुले स्वदेश फर्किने इच्छासहित आफ्नो विवरण इन्ट्री गराएको र तीमध्ये सात जना मात्रै तत्कालै नेपाल फर्किन इच्छुक रहेको दूतावासले जनाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np