Global Force Media

२०८१ बैशाख २४ - Mon May, 2024 -

प्रचण्ड र बाबुरामको एकतामा ‘कम्युनिस्ट’ शब्दको तगारो

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने विषय नामका अगाडि नेपाल कम्युनिस्ट पार्टी राख्ने वा नराख्ने भन्ने विवादमा अड्किएको छ ।

पार्टी एकताका लागि लामो समयदेखि छलफलमा रहेका दुई पार्टीका शीर्ष नेताहरूबीच अधिकतम सहमति जुटिसकेपनि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कम्युनिस्ट पार्टी राख्न नहुने अडान लिएपछि एकता प्रक्रिया अघि बढ्न सकेको छैन ।

माओवादी केन्द्रको यही हप्ता बसेको सचिवालय बैठकमा पनि यस विषयमा छलफल भएको छ । तर भट्टराईले कम्युनिस्ट पार्टी राखेर एकता गर्न नसकिने बताएपछि माओवादी केन्द्रले उनीसँग थप छलफल गरेर अघि बढ्ने निर्णय गरेका हो ।

माओवादी केन्द्रका सचिव गणेश साहका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेसपा अध्यक्ष भट्टराईसँग छलफल गरेपछि मात्रै यो विषयमा अगाडि बढ्ने निष्कर्षमा पुगेका छन् ।

‘एकता गर्ने भनेको लामो समय भयो । दुवै पार्टीका वार्ता समितिले प्रायः सबै विषयलाई टुङ्ग्याइसकेका छन्, तर बाबुरामजीले नेकपा राख्न नहुने भनेपछि त्यस विषयमा अध्यक्ष प्रचण्डले नै छलफल गर्ने भन्ने भएको छ’, सचिव साहले भने, ‘उहाँले केही दिनमा बाबुरामजीसँग बसेर यस विषयमा छलफल गर्ने बताउनुभएको छ । त्यसपछि मात्रै बाँकी कुरा अगाडि बढ्छ ।’

माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्व र नेसपाले सहअध्यक्ष गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएर एकताका विषयमा गृहकार्य गरिरहेका छन् । तर दुई वार्ता समितिबीच पटकपटक छलफल भएपनि अहिलेसम्म एकता प्रक्रिया बारे निर्णय हुन सकेको छैन ।

गत ३ मंसिरमा बसेको दुई वार्ता समितिको बैठकले पार्टी एकताको लागि दुवै पार्टीलाई अध्यक्षकै तहमा एकता संयोजक समिति गठन गर्न सुझाव दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेसपाले अध्यक्ष भट्टराईको संयोजकत्वमा संयोजन समिति गठन गरे पनि माओवादी केन्द्रले यस बारे कुनै निर्णय गरिसकेको छैन ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिस्ट मान्यता छाडेर कसैसँग पनि एकता गर्न नसकिने धारणा सचिवालय बैठकमा राखेका छन् भने पार्टीको नाम नेकपा राखेर एकता गर्नै नसकिने अडान नेसपा अध्यक्ष भट्टराईले राखिरहेका छन् ।

बिहीबार विराटनगर पुगेर माओवादी अध्यक्ष प्रचण्डले पार्टीको नामबाट कम्युनिस्ट नहटाउने स्पष्टोक्ति दिएका छन् । ‘कम्युनिस्ट पार्टी परिवर्तन गर्ने बारे भ्रममा नपर्नु होला । मैले कहिले पनि त्यस्तो भनेको छैन’, उनले भनेका छन्, ‘पहिले नेकपा माओवादी थियो, पछि नेकपा माओवादी केन्द्र भयो । माओवादी केन्द्रको ठाउँमा नेकपा समाजवादी केन्द्र पनि हुनसक्छ ।’

नामको बारेमा नयाँ ढंगले सोच्नुपर्छ भनेर पार्टीभित्र छलफल चले पनि नेपाल कम्युनिस्ट पार्टी परिवर्तन हुन्छ भन्ने भ्रम नपाल्न प्रचण्डले नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
प्रचण्डले यो धारणा सार्वजनिक गरेको केही दिनअघि मात्रै नेसपा अध्यक्ष भट्टराईले अनलाइनखबरसँगको कुराकानीमा कम्युनिस्ट प्रणाली कहिं पनि नरहने बताएका थिए ।

एमाले र माओवादी केन्द्रको एकता भंग भएपछि प्रचण्ड संकटमा परेको र जसपाको क्षेत्रीयता र जातिवादी संकीर्ण चिन्तनका कारण भर्खरै नेपाल समाजवादी पार्टी गठन गरेकाले चुनावअघि सहकार्य गरेको भट्टराईको तर्क छ ।

त्यतिवेला संवैधानिक–कानुनी प्रावधानअनुसार दुईभन्दा बढी दल एउटै साझा चिह्न लिएर अलग–अलग पहिचानसहित जान पाइन्छ र पछि बहस छलफल गर्दै जान सकिन्छ भन्ने आधारमा चुनावी तालमेल गरेको भट्टराईले तर्क गरेका छन् ।

‘त्यसको अर्थ पार्टी एकता गरेको होइन । नेकपा समाजवादी भन्ने छ, त्यो गलत कुरा हो । नेकपा भनेको त टाउको हो’, भट्टराईको प्रश्न छ, ‘टाउको उही राखेर समाजवादी पुच्छर लगाएर बदलिन्छ ? गधाको टाउकोमा गाईको पुच्छर टाँसेर त्यो गाई हुन्छ ?’

पार्टी एकता नै गर्नेभन्दा पनि ध्रुवीकरण गर्नका निम्ति छलफल गर्दै जाने सहमतिमा चुनावी तालमेल गरेको उनको स्पष्टोक्ति छ ।

समाजवादी ध्रुवीकरणका लागि नै समाजवादी केन्द्र वा मोर्चा बनाउने प्रस्ताव आफूले नै अगाडि सारेको स्मरण गराउँदै उनले पार्टी एकता भने कम्युनिस्ट पार्टीको आधारभूत सिद्धान्त र मूल्यमान्यतालाई पुनर्विचार गरेपछि मात्रै सम्भव हुने बताएका छन् ।

‘मुख्य कुरा त कम्युनिस्ट पार्टीको आधारभूत सिद्धान्त र मूल्यमान्यतालाई पुनर्विचार गर्ने कि नगर्ने भन्ने हो’, भट्टराईको भनाइ छ, ‘यसो नगरेसम्म कम्युनिस्ट पार्टी ओरालो लाग्नु, सिद्धिनु र पश्चिम बंगालको नियति भोग्नुको विकल्प म देख्दिनँ । त्यस्तो हुन नदिन बेलैमा समाजवादी ध्रुवीकरण गर्न मेरो आग्रह छ ।’

पार्टीका अध्यक्षद्वयबीच घटबढ हुने दूरीको आधारमा पार्टी एकताको छलफल हुने माओवादी केन्द्र र नेसपामा एकीकृत पार्टीमा ‘कम्युनिस्ट’ नाम राख्ने/नराख्ने विवादले एकता प्रक्रिया पुनः अवरुद्ध हुने संकेत देखिएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np