Global Force Media

२०८१ बैशाख १९ - Wed May, 2024 -

यो वर्षको एसईई चैत पहिलो साताबाट हुने

काठमाडौँ । संसद्को शिक्षा समितिमा छलफलको क्रममा रहेको ‘विद्यालय शिक्षा विधेयक २०८०’ र जाजरकोट तथा पश्चिम रुकुममा गएको भूकम्पपछि यो वर्ष समयमा नै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने/नहुने भन्नेमा चर्चा चलिरहेको छ । तर, राष्ट्रिय परीक्षा बोर्डले भने वार्षिक कार्यतालिका अनुसार एसईई चैतको पहिलो साताबाट हुने प्रष्ट पारेको हो ।

परीक्षा सर्ने वा दुई चरणमा हुने भन्ने अन्योलबिच बोर्डले वार्षिक कार्यतालिका अनुसार नै परीक्षा हुने बताएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए ।

‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो साताबाट हुन्छ । माघको पहिलो सातामा रुटिन निकाल्छौँ । वार्षिक क्यालेन्डर अनुसार नै परीक्षा हुन्छ । यसमा कुनै शङ्का नगर्न सबैमा अनुरोध गर्दछौँ,’ अध्यक्ष शर्माले भने ।

संसद्मा विद्यालय शिक्षा विधेयक पास भएर कानुन नबनेसम्म एसईई हुने प्रष्ट पारेका हुन् । ‘विद्यालय शिक्षा विधेयक अहिले संसद्को शिक्षा समितिमा छलफलको क्रममा छ । उक्त विधेयक पास भएर संसद्मा गएर त्यहाँ पनि पास भएर ऐन बन्न लामो समय लाग्छ । त्यो बेलासम्म हामीले आफ्नो काम गरिरहन्छौँ,’ अध्यक्ष शर्माले भने ।

‘विद्यालय शिक्षा विधेयक र जाजरकोट पश्चिम–रुकुममा गएको भूकम्पका कारण परीक्षा हुँदैन । परीक्षा दुई चरणमा हुन्छ भन्ने चर्चा चलिरहेको रहेछ । यसमा हामी परीक्षा तथा नतिजाका लागि वार्षिक क्यालेन्डर बनाएका छौँ । त्यही अनुसार हुन्छ,’ उनले भने ।

बोर्डले प्रश्नपत्र निर्माण तथा सर्टिफिकेटिङको काम गर्ने र परीक्षा सञ्चालन तथा व्यवस्थापनको काम प्रदेशले गर्ने उनले प्रष्ट पारे । सर्टिफिकेटिङको काम राष्ट्रिय परीक्षा बोर्डबाट मात्रै हुने भन्ने कानुनी व्यवस्था रहेकाले एसईई प्रदेशलाई हस्तान्तरण गर्न नसकिएको उनको भनाई छ ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पले प्रभावित पारे पनि परीक्षा नै सञ्चालन गर्न नसकिने गरी समस्या नरहेको बताए । उक्त क्षेत्रको अवस्था बुझ्न अध्यक्ष शर्मा आफैँ स्थलगत अनुगमनमा गएका थिए । स्थलगत अनुगमनको क्रममा परीक्षा सञ्चालन गर्न सकिने अवस्था रहेको पाइएको उनले जानकारी दिए ।

‘जाजरकोट र रुकुम पश्चिमका पालिकाहरूमा परीक्षा सञ्चालन र परीक्षा केन्द्र राख्न उपयुक्त छ छैन भनेर प्रधानाध्यापकसँग भेट्यौँ । पढाइ भइरहेको र परीक्षा सञ्चालनको लागि केही केन्द्रहरूलाई अल्टरनेट गर्न सकिने देखियो । स्थानीय पालिका, जिल्ला समन्वय र सामाजिक विकास कार्यालय र व्यवस्थापन समितिसँग छलफल भयो । परीक्षा सार्ने सुझाव आएको छैन,’ उनले भने ।

  • ३५ प्रतिशत ल्याउनैपर्ने, नयाँ पाठ्यक्रम लागू 

यो वर्षदेखि सबै विषयमा ३५ प्रतिशत अनिवार्य ल्याउनै पर्ने प्रावधान राखिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले मार्कसिट नपाउने बताए ।

‘यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदैछ । केही विषयको पुरानो अनुसार हुन्छ । नन ग्रेडिङ लागू हुदैछ । ३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने हुन्छ,’ उनले भने ।

यो वर्ष कक्षा १० को पाठ्यक्रम परिवर्तन भएको थियो । सोही आधारमा नयाँ पाठ्यक्रम अनुसार परीक्षा समेत हुन लागेको हो । परीक्षाका विषयमा अन्योल सिर्जना भएको भन्दै उनले विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयलाई परीक्षाको तयारीमा जुट्न उनले आग्रह गरे ।

  • ४ लाख ८९ हजार बढीको रजिस्ट्रेसन 

यो वर्षको एसईईका लागि देशभरबाट ४ लाख ८९ हजार ४४४ जना विद्यार्थीले रजिस्ट्रेसन फाराम भरेका छन् । यसमा २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिस्ट्रेसन फाराम भरेको परीक्षा नियन्त्रक पौडेलले बताए । खुला विद्यालयबाट करिब १० देखि १२ हजारको हाराहारीमा विद्यार्थी थपिने उनको भनाई छ । ती विद्यालयका विद्यार्थीको हकमा रजिस्ट्रेसन र परीक्षा फाराम एकै पटक भरिने भएकाले उनीहरूको सङ्ख्या अहिले नै यकिन नभएको पौडेलले बताए ।

विगतका वर्षको तुलनामा एसईई दिने विद्यार्थी केही कम हुने उनको भनाइ छ । यो वर्ष ५ लाखको हाराहारीमा विद्यार्थीहरूले एसईई दिने अनुमान बोर्डको छ ।

  • जाजरकोट र पश्चिम रुकुमका ५० प्रतिशत विद्यार्थी प्रभावित

जाजरकोट र पश्चिम रुकुममा गत कात्तिक १७ गते गएको भूकम्पले ठुलो धनजनको क्षति पुर्‍याएको थियो । जसका कारण रुकुम पश्चिम र जाजरकोटका एसईई दिने ५० प्रतिशतभन्दा बढी विद्यार्थी भूकम्पबाट प्रभावित भएका छन् ।

पश्चिम रुकुममा यो वर्ष ३ हजार ६१५ जना विद्यार्थीले एसईई दिनको लागि रजिस्ट्रेसन फारम भरेका थिए । ती मध्ये ५० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित भएको बोर्डका अध्यक्ष शर्माले बताए ।

त्यस्तै जाजरकोटमा ४ हजार ८०० विद्यार्थीले एसईईका लागि रजिस्ट्रेसन फारम भरेका छन् । ती मध्ये २ हजार १०० विद्यार्थी भूकम्पबाट प्रभावित भएको अध्यक्ष शर्माले बताए ।

ती विद्यार्थीहरूलाई अर्को परीक्षा केन्द्रबाट परीक्षा दिलाउने व्यवस्था मिलाइने उनको भनाई छ । ती जिल्लाहरूमा अहिले पठनपाठन निरन्तर चलिरहेको भन्दै पढाइका कारण कुनै समस्या नहुने बताए ।

एसईईका लागि रजिस्ट्रेसन फाराम भरेका विद्यार्थीको सङ्ख्याः

Reg

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np