Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्नुहुने राजकीय भोजमा सहभागी हुनेछन् ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान काठमाडौँ आइपुग्‍ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np