Global Force Media

२०८१ बैशाख १६ - Sun Apr, 2024 -

नेपाली फिल्मका लोकप्रिय ‘होली गीत’

काठमाडौँ । होली अर्थात फागु रङ्गहरूको पर्व हो । फागुन शुल्क पूर्णिमाका दिन मनाइने होली आज (आइतबार) काठमाडौँ उपत्यकालगायत देशभरका पहाडी जिल्लाहरूमा मनाइँदै छ । विभिन्न रङ्ग तथा पानी एकअर्काेलाई छ्याप्दै प्रेम र सद्भावको साथ यो पर्व मनाइन्छ ।

वसन्त ऋतुलाई स्वागत गर्दै मनाइने होली प्रसङ्गले नेपाली फिल्ममा पनि राम्रोसँग प्राथमिकता पाउँदै आएको छ । फिल्ममा होली पर्व र त्यस्ता गीत समेट्ने चलन पहिलेदेखि अहिलेसम्म छन् । नेपाली फिल्ममा रहेका दर्जन होली गीत जसको चर्चा यहाँ गर्न खोजिएको छ ।

‘होलीले मेरो रङ्गायो नयाँ चोली’ :

हरेक होलीमा धेरै प्राथमिकता पर्ने गीत हो यो । सन् १९९३ मा निर्माण भएको फिल्म ‘अधिकार’मा समावेश यो गीतमा राजेश हमाल, कृष्टि मैनाली, मिथिला शर्मा लगायतको अभिनय छ । यस फिल्ममा होलीको गीतलाई विशेष महत्त्व दिइएको छ ।

गीतमा उदित नारायण झा, दिपा झा, प्रकाश श्रेष्ठ र पूर्णिमा श्रेष्ठको स्वर छ । यो गीतलाई हरेक पुस्ताले रुचाउँदै आएका छन् ।

‘फागु हो फागु हो’ :

२००० सालमा प्रदर्शन ‘वसन्ती’ एक ऐतिहासिक विषयमा निर्माण भएको फिल्म हो । फिल्ममा राणाकालीन समयमा दरबारभित्र होलीलाई कसरी मनाइन्थ्यो भन्ने कुरा देखाएको छ । गीतमा राजेश हमाल, करिश्मा मानन्धर र निरुता सिंह लगायतको अभिनय देख्न सकिन्छ ।

नेपालका प्रख्यात उपन्यासकार डायमण्ड शमशेर राणाले लेखेको उपन्यास ‘वसन्ती’ मा आधारित रहेर निर्माण भएको यो फिल्म नीर शाहले निर्देशन गरेका हुन् । नीर शाहकै शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाको सङ्गीत र ज्ञानु राणा र लोचन भट्टराईको स्वर छ ।

‘आज जनकपुरमे होली है’:

फिल्म सितामा रहेको यो गीत अहिले पनि लोकप्रिय छ । स्वर्गीय श्रीकृष्ण श्रेष्ठ, सारङ्गा श्रेष्ठ, राजाराम पौडेल, किरण केसी अभिनीत फिल्म २०५१ चैत २५ गते प्रदर्शनमा आएको थियो । फिल्ममा जनकपुर क्षेत्रमा कसरी होली मनाइन्छ भन्ने कुरा देखाइएको छ ।

होली रे :

फिल्म ‘बटरफ्लाई’मा समावेश ‘होली रे ’ गीत पनि हरेक वर्षको होलीमा अत्याधिक बज्ने गीतहरूमा पर्छ । अभिनेत्री प्रियंका कार्की र अभिनेता आर्यन अधिकारीको अभिनय रहेको गीतमा राजेश पायल राई र मान्डवी त्रिपाठीले स्वर दिएका छन् । प्रमोद ढुंगानाको शब्द रहेको गीतमा विकास चौधरीको सङ्गीत भरेका छन् । फिल्म ओम प्रतिकले निर्देशन गरेका हुन् ।

होरीमे गोरी :

पुर्णेन्द्र झा निर्देशित फिल्म संरक्षणमा समावेश ‘होरीमे गोरी’ बोलको होली गीत तराई क्षेत्रमा होलीको समय धेरै बज्ने गीत मध्येको एक हो । भोजपुरीमा शब्द रहेको यो गीतमा फिल्म भने नेपाली भाषामा निर्माण भएको थियो । नेहा प्रियादर्सन र प्रवेश मल्लिकको स्वर रहेको गीतमा  धिरेन्द्र प्रेमर्षीको शब्द र सङ्गीत प्रवेश मल्लिकको रहेको छ । सौगात मल्ल र अशिष्मा नकर्मीलगायतको नृत्य गीतमा छ । फिल्म प्रदीप कुमार उदयले निर्माण गरेका हुन् ।

आऊ न आऊ खेलौँ होली :

अभिनेत्री करिस्मा मानन्धरले निर्माण गरेको फिल्म ‘फागु’मा रहेको ‘आऊ न आऊ खेलौँ होली’ हरेक वर्षको होलीमा धेरै बज्ने गर्छ । गीतमा दयाराम पाण्डेको शब्द वसन्त सापकोटाको सङ्गीत छ । मिना निरौला, मनोज महत्तो, रञ्जित कुमार सहानीको स्वर रहेको गीतमा शिल्पा पोखरेल र सुवास पराजुलीको अभिनय छ । फिल्मलाई सम्झना उप्रेती रौनियारले निर्देशन गरेकी हुन् ।

‘रङ्ग रंगा’ :

अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘गाजलु’मा रहेको गीत हो ‘रङ्ग रंगा’ । जैन जेको शब्द तथा सङ्गीत रहेको गीतमा शिवानी मोक्तानको स्वर छ । गीतमा अनमोल केसी, गौरव पहारी, मेनुका प्रधान, सलोन बस्नेत, सृष्टि श्रेष्ठलगायतको अभिनय छ । हेमराज विसी निर्देशित फिल्म रोहित अधिकारीले निर्माण गरेका हुन् । यो गीतले हरेक वर्षको होलीमा राम्रै प्राथमिकता पाएको देख्न सकिन्छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np