Global Force Media

२०८२ असार ३ - Tue Jun, 2025 -

फेवातालमाथि प्याराग्लाइडिङ उडान फेरि सञ्चालनमा आउने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै फेवातालमाथि उडान गर्न रोक लगाइएको प्याराग्लाइडिङ फेरि सञ्चालनमा आउने भएको छ । नागरिक उड्डयन प्राधिकरणले पहिलेजस्तै फेवा किनारको खपौदी (इन्ड अफ दी लेक) मा अवतरण गर्न अनुमति दिएको हो ।

पहिला सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरु भएर फेवातालमाथि उड्दै खपौदीमा अवतरण हुन्थ्यो । विमानस्थल सञ्चालनमा आएसँगै हवाई सुरक्षाका कारण देखाउँदै ५ किलोमिटर हवाई दूरीमा पश्चिमतर्फ मान्द्रेढुंगामा सारिएको थियो ।

अवतरणस्थल पनि खपौदीबाट पामेमा सरेको थियो । सराङकोटबाट सारिएपछि फेवातालमाथि प्याराग्लाइडिङ गर्न नपाइने भएकाले उडान भर्नेको संख्यामा भारी गिरावट आएको थियो । गत वर्ष उडानस्थल मान्द्रेढुंगाबाट पूर्वतर्फ तोरीपानीमा सरेपछि व्यवसायीले केही राहत महसुस गरेका थिए, तर अवतरणस्थल भने पामे नै थियो ।

अवतरणस्थल खपौदी सरेपछि प्याराग्लाइडिङ व्यवसाय पुरानै लयमा फर्कने अपेक्षा व्यवसायीको छ । प्याराग्लाइडिङको उडान समयसमेत बढाइएको छ । पहिले बिहान ११ देखि ३ बजेसम्म मात्र हुने गरेकामा बिहीबारदेखि दिउँसो साढे ४ बजेसम्म उडाउन पाइने भएको छ ।

नेपाल हवाई खेलकुद संस्था ९ना० का उपाध्यक्ष खेमराज आचार्यका अनुसार विमानस्थल सञ्चालनमा आउनुअघि दैनिक एक हजार पर्यटकले प्याराग्लाइडिङ गर्दै आएकामा उडान र अवतरणस्थल सरेपछि संख्या घटेर सय हाराहारीमा सीमित हुन पुगेको थियो ।

चार सयको संख्यामा रहेका प्यारा पाइलटसमेत घटेर २ सय ५० मा झरेका थिए । ६३ वटा प्याराग्लाइडिङ कम्पनीमध्ये १० वटा विस्थापित भएका थिए । ‘झन्डै २५ सयले प्रत्यक्ष रोजगारी पाएको यो व्यवसाय रुग्ण अवस्थामा पुगेको छ,’ उनी भन्छन्, ‘अब साविककै स्थलमा अवतरण हुने भएकाले व्यवसाय लयमा फर्कने आशा गरेका छौं ।’

संस्थाका अध्यक्ष अनिल केसी गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, जनप्रतिनिधि र पर्यटन व्यवसायीको पहलबाट अवतरणस्थल सार्न सम्भव भएको बताउँछन् । ‘प्याराग्लाइडिङ विस्थापनको अवस्थामा पुगिसकेको थियो,’ उनी भन्छन्, ‘प्राधिकरणको सहयोगले व्यवसाय बच्ने अवस्था आएको छ ।’ प्याराग्लाइडिङ उडान सुरक्षाका लागि दुईतर्फी रेडियो सञ्चार प्रविधि र जीपीएस प्रयोग गरिएको उनको भनाइ छ ।

साविकको स्थलमै उडान अनुमति पाएपछि हवाई खेलकुद संस्था र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको संयुक्त आयोजनामा बुधबार पोखरामा प्याराग्लाइडिङ उडान अभिमुखीकरण तालिम तथा पर्यटन विकासमा प्याराग्लाइडिङको भूमिका विषयक अन्तर्क्रिया भएको छ ।

कार्यक्रममा पोखरा महानगर प्रमुख धनराज आचार्यले प्राधिकरणको अनुमतिपछि प्याराग्लाइडिङ व्यवसाय पुनः व्यवस्थित हुने देखिएकाले पोखराको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास बढेको बताए । प्याराग्लाइडिङ सुरक्षित रहेको सन्देश दिनका लागि महानगरकै पहलमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी उनले दिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी उडानस्थल साविकको अवस्थामा फर्किनु सुखद भएको उल्लेख गर्दै एकल उडान पनि खोल्नुपर्ने बताउँछन् । नवौं राष्ट्रिय खेलकुदका क्रममा प्याराग्लाइडिङ दुर्घटनामा निसिम थापाको निधन भएपछि सोलो उडान बन्द छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर योगेन्द्र कुँवर प्राधिकरणले प्याराग्लाइडिङ व्यवसायीको पक्षमा निर्णय गरेको बताए । प्याराग्लाइडिङ उडानलाई सुरक्षित बनाउन स्थानीय सरकार र अन्य सरोकारवालाले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np