शालीनदी मेलामा मेयर नापितको नेतृत्वमा बजार अनुगमन

शालीनदी मेलामा मेयर नापितको नेतृत्वमा बजार अनुगमन
काठमाडौँ । साँखुमा जारी धार्मिक पौराणिक शालीनदी मेलामा सञ्चालित विभिन्न पसलहरुको अनुगमन गरिएको छ । शालीनदी मेलामा व्यापारीहरुले दर्शनार्थीसँग बढि मूल्य लिएको गुनासो बढेपछि शंखरापुर नगरपालिकाले अनुगमन थालेको छ । नगरप्रमुख रमेश नापितको नेतृत्वमा उपप्रमुख समिता श्रेष्ठ, नगरपालिकाका कर्मचारीहरु, इलाका प्रशासन कार्यालय साँखुका प्रतिनिधिहरु, विभिन्न वडाका अध्यक्ष, शंखरापुर उद्योग वाणिज्य संघ, राजनीतिक दलका प्रतिनिधिहरु, प्रहरी प्रभाग साँखु, नगर प्रहरी, सरोकारवालाहरु सहितको टोलीले संयुक्त रुपमा बजार अनुगमन थालिएको हो ।
बजार अनुगमनका क्रममा मुल्यसुचिमा नराखी पसल सञ्चालन गर्नेहरुलाई नगरप्रमुख नापितले तत्काल मुल्यसुची राखेर सोही अनुरुप मात्रै सामान बेच्न निर्देशन दिएका छन् । उनले अस्वाभाविक रुपमा बढाएर मुल्यसूची राखिए तत्काल हटाउन लगाउनपनि कर्मचारीहरुलाई निर्देशन दिएका छन् । शालीनदी दर्शनार्थीलाई मूल्यसूची भएका पसल तथा स्टलहरुमा मात्रै जान र कुनै प्रकारका कमजोरी वा गुणस्तरविहीन खाद्यपदार्थको विक्री वितरण भएको भए मेला स्थल नजिकै रहेको नगरपालिकाको कार्यालयमा गुनासो गर्न आग्रह नापितले आग्रह गरेका छन् ।
बजार अनुगमनका क्रममा मेयर नापितले भने –‘बाहिर हल्ला चलेजस्तो ठगी बढेको छैन । कतै–कतै बढी मूल्यसुची बनाएर लिएको देखिएतापनि सबैले यस्तो गरेको छैनन् । तिनीहरुलाई मुल्यसुची परिवर्तन गर्न लगाई पहिलेकै दरमा बिक्री गर्न निर्देशन दिएका छौँ । अटेर गरेको पाईएमा नगरपालिकाले कडा कारवाही गर्छ ।’ मेलामा प्रत्येक दिन नगरपालिकाले अनौपचारिक रुपमा बजार अनुगमन गर्ने नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।
उनले भने– ‘वर्षैपिच्छे हामीले मेला चल्ने बेलामा अनुगमन गर्दै आएका छौ । मेलामा रहेका भोजनालय तथा होटलमा बाहिर हल्ला चलेको जस्तो महङ्गो छैन, एउटा दुइटा पसलमा स्वाभाविक भन्दा बढि लिएको पाईयो, उनिहरुलाई हामीले सचेत गराइसकेको छौ । पुनः ती पसलहरुले अस्वभाविक रुपमा मूल्य बढि लिएको पाइयो भने हामी कारवाही गर्छौ ।’
प्रवक्ता श्रेष्ठले यातायात, बजार वा मेलाका बजारमा कतै ठगिए सिधै मेला व्यवस्थापन समितीमा वा नगरपालिकामा गुनासो गर्न पनि तिर्थालुलाई आग्रह गरेका छन् । श्रीस्वस्थानी व्रतकथा आधारित एक महिने शालीनदी मेला यही माघ २२ गतेसम्म सञ्चालन हुँदैछ ।